डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्ति
Published:
by .झापा । आसाम डाउन टाउन युनिभर्सिटीले शैक्षिक सत्र सन् २०२२/२३ मा नेपाली विद्यार्थीहरुका लागि भारतीय रुपैयाँ पाँच करोडको छात्रवृत्ति योजना ल्याएको छ । युनिभर्सिटीको इतिहासमा नेपाली विद्यार्थी लक्षित यति ठूलो र राम्रो छात्रवृत्ति योजना पहिलोपटक आएको जनाइएको छ ।
आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल को–अर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी बिर्तामोडका प्रबन्ध निर्देशक शंकर भट्टराईले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।
एसईईदेखि माथि स्नातकोत्तर तहसम्मका विद्यार्थीका लागि लक्षित गरी उक्त छात्रवृत्ति योजना लागू गरिएकोले इच्छुक विद्यार्थीलाई अनलाइनमार्फत निःशुल्क आवेदन गर्न भट्टराईले सुझाएका छन् ।
‘नेपालबाट जाने विद्यार्थीहरुले शैक्षिक सत्र सन् २०२२/२३ मा पाँच करोड भारतीय रुपैयाँको छात्रवृत्ति पाउने छन्, जसका लागि यही साउन ११ गतेभित्र आवेदन भरेर युनिभर्सिटीमा पठाइसक्नु पर्नेछ’ कोअर्डिनेटर भट्टराईले पत्रकार माझ भनेका छन् । ‘यही साउन १३ गते युनिभर्सिटीबाट लिइने अनलाइन कमन स्कलरशिप टेस्टमा सामेल हुनुपर्नेछ र सो टेस्टको प्राप्तांकका आधारमा शतप्रतिशत र आंशिक छात्रवृत्तिको नतिजा प्रकाशन गरिनेछ’ उनले सुनाए ।
अनलाइन लिइने कमन स्कलरशिप टेस्टमा प्राप्त गर्ने अंकका आधारमा २५/२५ जनाका दरले विभिन्न स्तरको छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालयको तयारी छ । यो छात्रवृत्ति योजनामा विश्वविद्यालयको होस्टेल खर्च चाहिँ समावेश नहुने भट्टराईले जनाएका छन् ।
एसईई उत्तीर्ण गरी पढ्ने विद्यार्थीका लागि लाग्ने अध्ययन शुल्क अनुमानित करिब २ लाख ५० हजार रुपियाँ, कक्षा १२ उत्तीर्ण गरी पढ्ने शुल्क करिव ३ लाख ५० हजार रुपियाँ र स्नातक उत्तीर्ण गरी स्नातकोत्तर पढ्ने विद्यार्थीको शुल्क ५ लाख भारु लाग्ने हुन्थ्यो । तर कमन स्कलरशिप टेस्टमा सबैभन्दा राम्रो अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ प्रशासनिक खर्च र १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट बाहेक अन्य शुल्क तिर्न पर्दैन ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भट्टराईले भने ‘कमन स्कलरशिप टेस्टमा दोस्रो रेन्क अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट र अध्ययन शुल्क वापत मात्र ३० हजार भारु बुझाउनु पर्नेछ । यस्तै कमन स्कलरशिप टेस्टमा तेस्रो रेन्क अंक प्राप्त गर्ने २५ जना विद्यार्थीले १० हजार रुपियाँ फिर्ता हुने गरी डिपोजिट र अध्ययन शुल्क वापत मात्र ७० हजार भारु बुझाउनु पर्नेछ । र, बाँकी २५ जनाले सिङ्गो कक्षा पूरा गर्दा लाग्ने शुल्कको आधामात्र शुल्क बुझाउने अवसर छ ।’
सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै भट्टराईले हाल सो विश्वविद्यालयमा ५०० हाराहारी नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका र उनीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भइरहेको बताए । विगत महाभूकम्पका बेला ४० जना नेपाली विद्यार्थीलाई युनिभर्सिटीले निःशुल्क अध्ययन अध्यापन गराएको जनाउँदै उनले वर्षेनी विभिन्न शीर्षक अन्तर्गत छात्रवृत्ति दिँदै आएको जनाएका छन् ।
सो विश्वविद्यालयमा ६० वटा प्रोग्राम र २५० फ्याकल्टीमा अध्ययन अध्यापन हुने गर्दछ । सो युनिभर्सिटीमा एसईई पछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा कोर्स, प्लस टु पछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आइटी, मानविकी, वाणिज्य लगायत ६० भन्दा बढी फ्याकल्टीका कोर्सहरु पढाई हुने गर्दछ । त्यहाँ विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन हुने गरेको छ भने नेपालबाट हालसम्म दर्जनौंले विद्यावारिधि पनि गरेका छन् ।
यसअघि सन् २०१७ को अगस्ट ११ र १२ तारिखमा काठमाडौंको महेन्द्र पुलिस क्लवमा युनिभर्सिटी र लक्ष्मी एजुकेसनले अन्तर्राष्ट्रिय रोजगार मेलाको आयोजना गरेका थिए । जसमा २३ वटा नेपालका र २ वटा भारतीय रोजगारदाता कम्पनी सहभागी थिए । यसबाट ३५० भन्दा बढी नेपाली युवा लाभान्वित भएको पनि भट्टराईले बताए ।
Comments