Sajhamanch Archive

अर्जुनधाराका महिला जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तालिम सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागि तीन दिवसीय नेतृत्व विकास तालिम आजदेखि बिर्तामोडमा सुरु भएको छ ।

‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम’को ब्यानरमा सेन्टर फर दलित वुमन नेपालले आयोजना गरेको महिला जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास तालिम साउन ५ गतेदेखि ७ गतेसम्म चल्नेछ ।

तालिमको उद्घाटन समारोह अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो ।

तालिमबाट सञ्जालीकरणको सीप, मूल्य मान्यता र उद्देश्यको पहिचान, कार्ययोजना निर्माण तथा तनाव व्यवस्थापन, नैतिकवान नेतृत्व, समस्या विश्लेषण र उत्थानशीलता जस्ता विषयमा महिला जनप्रतिनिधिहरुलाई सबलीकरण गरिने तालिमका प्रशिक्षक नविना सापकोटाले जानकारी दिइन् ।

तालिम उद्घाटन समारोहको सञ्चालन गर्दै सोमराज ढकालले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम राखिएको बताए ।

नगर उपप्रमुख पराजुलीले आफू वडा सदस्य हुँदा शी लिड्सले प्रदान गरेको तालिमबाट निक्कै नै क्षमता विकास भएको स्मरण गर्दै महिला जनप्रतिनिधिहरुले सिक्न चाहेका धेरै विषय यहाँबाट पाउने बताइन् ।

यो प्रकृतिको तालिम न त आफू आवद्ध राजनीतिक दलले दिँदोरहेछ न त पालिकाहरुबाट नै पाइँदो रहेछ भन्दै उपप्रमुख पराजुलीले महिलाहरुको उत्थानका लागि शी लिड्सले महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

अर्का वक्ता प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले कार्यपालिका बैठक र बोर्ड बैठकमा आफ्नो भनाईलाई गहकिलो ढंगले राख्नसक्ने बनाउन यस्तो तालिम महत्वपूर्ण हुने बताइन् । नगरपालिका बोर्डमा एजेण्डाहरु पास गर्न, विरोध वा संशोधन गराउन सक्ने जनशक्ति उत्पादन गर्न तालिम फलदायी हुने उनको विश्वास थियो ।

तालिम संयोजक सम्झाना पोखरेलका अनुसार २३ जनाको सहभागिता रहेको उक्त तालिम तीन दिनसम्म चल्नेछ भने तालिमको सहजीकरण नविना सापकोटा र सोमराज ढकालले गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *