प्रहरी अधिकृतको तुच्छ हर्कतः वडाध्यक्षलाई धकेलेर पोखरीमा लडाए
Published:
by .बुटबल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी माथि कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी गराउँदै अब तत्कालै उनी विरुद्ध कारबाही थालिने बताएका हुन् ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले डिएसपी केसी संलग्न भएको घटना विवरण संकलन गरी छानबिन गर्न प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई भनिएको छ, छानबिन पछि उपयुक्त कारबाही गर्न भनिएको जनाएका छन् ।
नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यसै क्रममा वडा नंं ४ का वडाध्यक्ष क्षेत्रीलाई प्रहरीले धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष पनि माग गरिसकेको छ ।
Comments