जिसस झापाका पदाधिकारीलाई बधाईसहित कार्यसफलताको शुभकामना पत्र प्रदान
Published:
by .बिर्तामोड । जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई ज्ञापनसहित कार्यसफलताको शुभकामना पत्र प्रदान गरिएको छ ।
संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा शुभकामना पत्र प्रदान गरेका हुन् ।
जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री तथा सदस्यहरु कपिलमणि काफ्ले, जुनु नेपाली दर्जी, जलाल अलि, तुलसा काफ्ले बराल, देविका बसेल, रीता नेपाली र सन्तोष सोरेनलाई शुभकामना पत्र प्रदान गरिएको हो । उपप्रमुख रोक्का हाल काठमाडौंमा रहेकोले कार्यक्रममा अनुपस्थित थिइन् ।
सो कार्यक्रममा बोल्दै मन्त्री सरावागीले जिससको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै जिल्लामा समन्वयकारी र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जिल्लामा भूमि सम्बन्धी समस्या, सहकारीका समस्या तथा विपन्नको जीवनस्तर उकास्ने कार्यमा जिससले समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
जिसस प्रमुख बरालले आफू कार्यकारी भूमिका नभए पनि जिल्लामा समन्वयको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उद्देश्य मिल्ने विषयमा उनले सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए । बरालले जिससको टिम काममा विश्वास गर्ने भएकाले काम खोजेर भए पनि प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताएका छन् ।
Comments