बिर्तामोडमा शिवमहापुराण
Published:
by .बिर्तामोड । साउन महिना शिवको महिना । यही सन्दर्भमा झापाको बिर्तामोडमा शनिबारदेखि ११ दिवशीय शिव महापुराण ज्ञान महायज्ञको तयारी गरिएको छ ।
हिमाल सागर पार्टी प्यालेसमा संग्रौला परिवारको संयोजनमा दशौं संस्करणको शिवमहापुराण ज्ञान महायज्ञ हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो ।
दैवी प्रकोप तथा मानवीय उद्धारका लागि स्थापन गरिएको कोषमा आर्थिक सहयोग जुटाउने हेतुले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य देवीप्रसाद संग्रौलाले जानकारी दिए ।
धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोडको आयोजना र इश्वरादेवी तथा दिपा संग्रौला लगायत संग्रौला परिवारको संयोजनमा शिवमहापुराण ज्ञान महायज्ञ हुन लागेको हो ।
महायज्ञमा आचार्य पण्डित दिननाथ मिश्रले कथा वाचन तथा प्रवचन दिने छन् भने उपवाचकको रुपमा पण्डित देवेन्द्र पौडेल र भागवत पाठ पारायण पण्डित भिमप्रसाद मिश्र शास्त्रीबाट हुने बताइएको छ ।
महापुराणमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले समेत प्रस्तुति दिने आयोजकको भनाई छ ।
महायज्ञको पहिलो दिन शनिबार कलश यात्रा, मण्डप पूजा लगायता विशेष कार्यक्रमहरु रहेको छ । महायज्ञमा सहभागी हुन, यथाशक्य दान दक्षिणा गर्न र विपदमा परेका मानिसहरुको सेवाका लागि सक्दो सहयोग जुटाउन आयोजकको आग्रह छ ।
Comments