सप्तकोसी नदी बेलकाका गाउँमा पस्यो, सयौं बिस्थापित
Published:
by .उदयपुर । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।
अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएको हो ।
बेलका नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनले बताए । बेलका ३ मा मात्र ९०० घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् ।
केही बेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुनसक्ने अध्यक्ष आचार्यले बताए ।
झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै बेलका नगरपालिका ८ डुम्रीबोटे हुँदै कोसी नदीको बहाव बस्ती पसेको हो । नगरपालिकाका वडा नं. ८, ९ र ३ मा नदी पसेपछि त्यहाँका सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ सरेका हुन् ।
पश्चिम तटीय क्षेत्रको बेलका नगरपालिका ८ डुम्रीबोटेबाट सप्तकोसी पस्दा नगरपालिकाको ८, ९, ३, २ र १ वडा प्रभावित भएका छन् । बुधबार बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका ८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको थियो ।
कान्तिपुरबाट
Comments