आगामी आम निर्वाचनमा काँग्रेस गठबन्धन गरेरै निर्वाचनमा जाने : महामन्त्री शर्मा
Published:
by .भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको तीव्रतम विकास हुन नसक्नुमा राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति बाधक भएको दावी गरेका छन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनमा आइतबार चन्द्रगढीमा सम्पन्न अन्तरक्रियामा आफ्ना धारणा राख्दै महामन्त्री शर्माले विकास आयोजनाको वास्तविकता नबुझी राजनीतिको नेतृत्व लिएका नेताहरूले सबैथोक बुझेको शैलीमा कामगर्दा विकास परियोजना अलपत्र परेर समृद्धिको पथ भेट्न कठिन भएको जिकिर गरेका हुन् ।
‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, ‘राजनीतिले विधि र प्रकृया निर्माण गरिदिने तर दल वा सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरता निम्त्याएर विदेशी हस्तक्षेप बढ्ने गरेकाले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो छ ।’
पार्टीमा आन्तरिक चुनावका बेला गुट उपगुट देखिएको भए पनि आम निर्वाचनमा गुट उपगुटको प्रभाव नरहने भन्दै महामन्त्री शर्माले आगामी आम निर्वाचनमा काँग्रेस गठबन्धन गरेरै निर्वाचनमा जाने स्पष्ट पारेका छन् । उनले काँग्रेसमा हजुरबुबा पुस्तादेखि नाति पुस्तासम्म केन्द्रीय समितिमा रहेर सँगसँगै काम गरिरहेको भन्दै सबै पुस्ताको आवश्यकता बुझेर देशको नेतृत्व सम्हाल्न सक्ने आधादर्जन बढी नेता तयार रहेको बताएका छन् ।
Comments