सार्वजनिक सुनवाईमार्फत् कनकाई ६ वडाको पारित बजेट घोषणा
Published:
by .कनकाई । कनकाई नगरपालिका वडा नं. ६ को बजेट सार्वजनिक सुनवाई गरेर सार्वजनिक गरिएको छ । वडा अध्यक्ष दीर्घबहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक सुनवाईमार्फत् सार्वजनिक गरेका हुन् ।
वडाले पाएको बजेटको सिलिङ ८९ लाख २९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै वडाध्यक्ष थापाले बजेटमा भौतिक विकासतर्फ ४७ लाख ५० हजार, सामाजिक विकासतर्फ १६ लाख ९९ हजार, शिक्षातर्फ ४ लाख ३० हजार, संस्थागत विकासतर्फ ६ लाख ७५ हजार, कृषितर्फ ६ लाख २५ हजार, बिपद व्यावस्थापन र भैपरी आउनेतर्फ ७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराए ।
यसवर्ष वडाको बजेटमा पशुपालक कृषकलाई गाईको एआई निःशुल्क सेवादेखि वडाभित्र मृत्यु हुने नागरिकको शव जलाउनका लागि आर्यघाटमा निःशुल्क दाउरा प्रदान गर्दै र किरिया खर्चसमेत दिइने कार्यक्रम बनाएको छ ।
बजेट सार्वजनिकीकरण कार्यक्रममाझ सो क्षेत्रका अगुवा सामाजिक अभिभावक लीलाप्रसाद नेपालसहित स्वास्थ्यकर्मी शर्मिला सेढाई र नगरपालिका कर्मचारी फणिन्द्रकुमार गिरीलाई दोसल्ला ओडाएर नगदसहित सम्मान गरिएको छ । प्रतिनिधिसभाका सदस्य एलपी सावाँ र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा आफ्ना धारणा राख्दै सांसद सावाँले जनताको विकासप्रतिको मोहभंग हुने काम गर्न कुनै पनि जनप्रतिनिधिलाई छुट नभएको बताए । सांसद सावाँले सरकारले अघिल्ला दुई वर्षमात्रै खुलेर विकास निर्माणको काम गर्न पाएको र पछिल्ला तीन वर्षमा कोरोना कहरका कारण विकास निर्माणले गति लिन नपाएको बताउँदै कतिपय अवस्थामा ठेकेदारको चरम लापरवाही कै कारण बन्नुपर्ने संरचनाहरु समय मै बन्न नसकेको जिकिर गरे ।
वर्तमान गठबन्धनको सरकारले देशको आय आर्जनका लागि केही काम गर्न नसकेको आरोप लगाउँदै साँसद सावाँले यही अवस्था रहने हो भने देश ढिलो चाँडो श्रीलंकाको बाटोमा जाने समेत बताए ।
सो कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाक्ँे विकासका लागि तीन वटै सरकार मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाउ । कनकाई नगरपालिकाको विकासको गति ६० वर्षअघिको भन्दा आफू नगरप्रमुख भएपछि बढी भएको उनको दावी छ ।
कार्यक्रममा कनकाई नगरपालिका ६ नम्बर वडाध्यक्ष दीर्घबहादुर थापाले कनकाई ६ नम्बर वडा नगरको भौगोलिक अवस्थाका कारण ज्यादै पिछाडिएको भन्दै नगरपालिकाले भूगोल र जनसंख्यालाई आधार मानेर बजेट बितरण गर्दा आफूहरु अन्यायमा परेको गुनासो गरे ।
सोही कार्यक्रमका बीच ६ नम्बर वडाको जेष्ठ नागरिक चौतारीसमेत उद्घाटन गरिएको छ । जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाराकोटीले वडा नम्बर ६ का जेष्ठ नागरिक संघका अध्यक्ष पदमप्रसाद ओलीलाई चौतारीको साँचो हस्तानतरण गरेर उद्घाटन गरेका हुन् ।
चौतारीमा सो क्षेत्रका जेष्ठ मातापिताले दैनिक दिवासेवा र भजन कीर्तन गरी मनको बह भुलाउने काम गर्दै आएको छ । कनकाई नगरपालिका सहारा नेपाल र स्थानीयको लगानीमा उक्त जेष्ठ नागरिक चौतारी निर्माण गरिएको हो ।
Comments