Sajhamanch Archive

बिर्तामोडको फोहोर भोलिदेखि उठाइने, कसैले अवरोध गरे प्रहरी-प्रशासनले बल प्रयोग गर्ने सर्वदलीय सहमति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालको निजी जग्गामा व्यवस्थितरुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै राजनीतिक दल, स्थानीयबासी तथा सरोकारवालाहरुले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको छ ।

जग्गा धनीसँग सहमति भइसकेकोले बिर्तामोडको फोहोर भोलिदेखि नै उठाउने तयारी रहेको नगर प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकले फोहोर विर्सजनस्थलमा फोहोर बोकेको गाडी लैजाने सडक स्तरोन्नति गर्ने, तटबन्धन गर्ने र सडक बत्ती जडानका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले वडा नम्बर ७ मा रहेको सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गमा वृक्षारोपण गरी फोहोर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बिर्तामोडको फोहोरको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ती गर्न र कनकाई बिर्ता–अर्जुन नविकरणीय उर्जा कम्पनी मार्फत फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यमा साझेदारी हुने मार्गसमेत अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

सो बैठकले फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गर्न सबै घर परिवार तथा व्यवसायिक संस्थाहरुलाई आव्हान गरी वर्गीकरण नभएको फोहोर संकलन नगर्ने कार्ययोजना बनाएर लागु गर्ने, फोहोर संकलन, ढुवानी र बिर्सजन गर्ने कार्यमा अवरोध पुर्याउने, क्षति गर्नेजस्ता अराजक क्रियाकलापहरु भए त्यस्ता व्यक्ति तथा समूहलाई स्थानीय प्रशासन मार्फत बलसमेत प्रयोग गरिने जनाइएको छ ।

फोहोर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरु समेतको प्रतिनिधित्व हुनेगरी पुनःगठन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *