Sajhamanch Archive

‘नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी’ : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा नेकपा एमालेको उद्गमस्थल मात्र नभई एमालेका लागि मक्का मदिना जस्तै भएको बताएका छन् ।

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले झापा जिल्लाले देश निर्माणको लागि भूमिका खोल्नु पर्ने आवश्यकता औंल्याए । झापा एमालेको उद्गमस्थल भएको स्मरण गराउँदै अध्यक्ष ओलीले भने ‘यो शहीद भूमि हो, यो चेतनाको भूमि हो ।’ महिलाहरूले यो सन्देश लिएर मतदाताको बीचमा जानुपर्छ ।

झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्ने अध्यक्ष ओलीले बताए । उनले नारी शक्ति जुरुक्क उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘महिला दिदी बहिनीहरू बिचारमा स्पष्ट हुनुहुन्छ, नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो ।’

निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने उनको तर्क छ । अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने ओलीको दावी थियो ।

अब पनि एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने बताउँदै अध्यक्ष ओलीले एमाले जोगाएर अहिलेको अवस्थासम्म पुर्‍याएको भन्दै महिला र युवालाई धन्यवाद पनि दिए । महिलाहरू दृढका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने ‌ओलीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *