Sajhamanch Archive

प्रदीप गिरीका धेरै अङ्गले काम गर्न छाडे : परिवारजन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कांग्रेस नेता एवं सांसद प्रदीप गिरीका धेरै अङ्गले काम गर्न छाडेको परिवारजनले बताएका छन्।

शनिबार परिवारका तर्फबाट नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन प्रेस विज्ञप्ति जारी गरी धेरै अङ्गले काम गर्न छाडेको जनाइएको छ।

“निमोनियाले एकदमै च्यापेको छ,” भारती सिलवाल गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “जसले गर्दा धेरै अङ्गले काम गर्न छाडेका छन्।”

नेता गिरीलाई क्यान्सर भएको थियो। उनको भारतमा उपचार भएको थियो। भारतबाट उपचार गरेर फर्केपछि निमोनिया भएको थियो। उनलाई एक महिनाअघि नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

अहिले पनि मेडिसिटीमा विशेषज्ञ चिकित्सकको टोलीले उपचार गरिरहेका छन्। परिवारको तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरू सहित अस्पतालको पूरै टीमले गिरीको उपचार गरिरहेको छ र विशेषज्ञ टोलीले प्रदीप गिरीको स्वास्थ्यलाभका लागि सक्दो प्रयास गरिरहेको छ।”

नेता गिरीको उपचार गरिरहेको अस्पताललाई परिवारजनले धन्यवाद पनि दिएका छन्। यससँगै गिरीको स्वास्थ्यका लागि प्रार्थना गर्न सबैलाई अनुरोध गरेका छन्।

आज बिहानैदेखि कतिपय मिडिया र सामाजिक सञ्जालमा गिरीप्रति लक्षित दुखद् खबर पोष्ट गरिएको थियो । तर परिवारबाटै आधिकारिकरुपमा अपरान्ह यस्तो जानकारी समेटिएको विज्ञप्ती आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *