Sajhamanch Archive

सांसद गिरीको निधनः कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, प्रतिनिधिसभा बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछन् भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले निर्णय गरेको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने कांग्रेसको निर्णय छ ।

यसैबीच आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ । कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *