Sajhamanch Archive

एनएमसीमा सदस्य शिक्षा कार्यक्रम धमाधम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई बचत फिर्ता दिनसमेत नसकेकोले सहकारी अभियानकै बद्नाम हुँदै गएको परिप्रेक्ष्यमा संघीय सहकारी विभागले प्रारम्भिक संस्थाहरुलाई सदस्य शिक्षा मार्फत् आफ्नो वित्तीय अवस्था दर्शाउन भनेको थियो ।

सोही सुझावका आधारमा भदौ १ देखि ४ गतेसम्म एकाई पदाधिकारी–सदस्यहरुसम्म बैठकको रुपमा सञ्चालित कार्यक्रमलाई भदौ ५ गतेदेखि सदस्य–गैह्र सदस्यमाझ सदस्य शिक्षाका रुपमा सञ्चालन थालिएको जनाइएको छ । एनएमसीका ५८ वटा वित्तीय सेवा केन्द्र र २५० भन्दा बढी एकाई अन्तरगतका सबै सेयर सदस्यहरुलाई भदौ महिनाभरमा एनएमसीको वित्तीय अवस्थिति जानकारी गराउने कार्यक्रम छ ।

सोही सन्दर्भमा भदौ ७ गते एनएमसी सुरुङ्गा सेवा केन्द्र अन्तरगतको दुईवटा एकाईमा सदस्य शिक्षा कार्यक्रम गरिएको छ । कनकाई नगरपालिकाको दक्षिणी भूगोल टेक्रा आसपासका सदस्यहरुलाई बेनुबाजा खानेपानी संस्थाको अगाडि रहेको दुर्गा मन्दिरको सभाहलमा सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

एक सयजना हाराहारी सहभागी उक्त कार्यक्रममा संस्थाको संशोधित र परिमार्जित नीतिहरु, वर्तमानका चुनौति, सम्भावना र अवसरहरुका बारेमा एनएमसी बिर्तामोड सेवाकेन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेले सहजीकरण गरेका थिए । यस्तै सुरुङ्गा सेवा केन्द्र प्रमुख धर्मेन्द्र सुवेदीले संस्थाको वर्तमान वित्तीय अवस्थित एवम् बचततर्फका नयाँ योजनाहरुका बारेमा प्रकाश पारेका थिए ।

सुरुङ्गा सेवा केन्द्रका अपरेशन इन्चार्ज गंगाराम तिम्सिनाको सञ्चालनमा सम्पन्न गरिएको उक्त कार्यक्रमका सहभागीहरु खड्गबहादुर चापागाई, कौशिला आचार्य र उर्मिला भट्टराईले संस्थाको बारेमा मसिनो गरी बुझाएर एनएमसीले सदस्यहरुको मन जितिरहेको प्रतिक्रिया दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *