अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने
Published:
by .काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो ।
बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आउँदो चुनावको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ती समूहले भोलि शनिबार बस्ने बैठकमा प्रस्तुति राख्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले परिषद्को, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले अनुशासन आयोगको, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया प्रस्ताव भएको प्रचार विभाग उपप्रमुख रिजालले बताए । त्यस्तै गएको पालिका चुनावमा पार्टीभित्र देखा परेका समस्या छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराएको पनि उनले जानकारी दिए ।
बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाई छ । यसैगरी केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयको अनुमोदन पनि भएको जनाइएको छ ।
भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि सङ्गठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरू निर्माण गरिएको जानकारी दिइएको छ ।
बैठकमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पनि दिइएको छ । बैठक शनिबार बिहान साढे १० बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
Comments