Sajhamanch Archive

झापाबाट २७ खेलमा ४४९ खेलाडी छानिए

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको आज सोमबार औपचारिक समापन गरिएको छ ।

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

५९औं राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापन समारोहमा प्रजिअ रिजालले प्रमुख अतिथिको रूपमा समारोहलाई सम्बोधन गर्दै खेलकुद देशको पहिचानको महत्वपूर्ण आधार स्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखे । खेल र खेलाडीलाई साधन–स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दा मात्र अपेक्षित प्रतिफल प्राप्त हुने उनको भनाई छ ।

समारोहका अध्यक्ष, झापा जिल्ला खेलकुद विकास ससमितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको समग्र गतिविधि बारे कार्यक्रममा जानकारी गराउँदै सीमित स्रोत–साधनका बाबजुत भव्यरुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापुर्वक सम्पन्न गरिएको दावी गरे । उनले खेलाडीको छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट होस् भन्ने उद्देश्यका साथ सबै विधाका खेलको समिति निर्माण गरी संयोजक तोकिएको पनि बताए ।

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समापन समारोहमा आमन्त्रित अतिथिहरुलाई समितिका कार्यालय सचिव विष्णु नेम्वाङले शाब्दिक स्वागत गरेका थिए भने समितिका उपाध्यक्ष गंगा कोइरालाले अतिथिहरुलाई खादा–माला पहिर्याएर स्वागत गरेकी थिइन् ।

सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पुर्याएर सेवा निवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो । झापामा हक्की खेललाई जीवन्त राख्न र हक्कीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो । उनीहरुलाई समारोहका प्रमुख अतिथि प्रजिअ रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्की लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।

झापामा छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोट भएको समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए । छनोटमा परेका खेलाडीलाई समितिले जर्सीका साथै अन्य आवश्यक सामग्री उपलब्ध गराउने छ । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार क्लोज–क्याम्पमा अभ्यास गराइने पनि नेम्वाङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *