उजारु राजवंशीको घर निर्माणका लागि सहयोग जुट्दै
Published:
by .बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता स्व. उजारु राजवंशीको घर निर्माणका लागि सहयोग संकलन हुन थालेको छ ।
राजवंशी परिवारको घर निर्माण गरिदिन दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको संयोजकत्वमा इन्द्रसिंह राजवंशी, सुमन राजवंशी, सरोज पौडेल र उमानाथ भण्डारी रहेको स्व. उजारु राजवंशी भवन निर्माण समिति गठन गरिएको छ । सोही समिति मार्फत सहयोग संकलन हुन थालेको हो ।
जग्गादाता स्वर्गीय उजारु राजवंशीको घर निर्माणका लागि दुर्गा माविले ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विद्यालय परिवारका तर्फबाट शुरुवाती चरणमा सो रकम सहयोग गरिएको प्रधानाध्यापक पाठकले बताए । त्यस्तै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौले ३० बोरा र कालीमाता मठ मन्दिर समिति बिर्तामोड ९ नडियाबाडीले २० बोरा सिमेन्ट प्रदान गर्ने निर्णय गरेको छ । दुवै संस्थाबाट ५० बोरा सिमेन्ट दिने निर्णय भएको रोटरी क्लब अफ डिल्लीबजारका सदस्य समेत रहेका कालीमाता मठमन्दिर समितिका अध्यक्ष युवराज रोकाले बताए ।
त्यस्तै अन्य दाताहरुले पनि नगद तथा जिन्सी सहयोग गर्ने इच्छा व्यक्त गरेको निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । सहयोग संकलनलाई व्यवस्थित र पारदर्शी बनाउन लुम्बिनी विकास बैंक बिर्तामोड शाखामा स्व. उजारु राजवंशी भवन निर्माण समितिको नाममा खाता खोलिएको राजवंशीले बताए ।
उक्त बैंकमा रहेको निर्माण समितिको खाता नम्बर ०७२००१२०२४२१५८०००००१ मा सहयोग गरिदिन सबै सहयोगीहरुलाई समतिले आव्हान पनि गरेको छ । जग्गादाता उजारुको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो ।
Comments