Sajhamanch Archive

बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज गरिएको विशेष नगरसभाले तीनवटा विधेयक पास गरेको छ । विशेष नगरसभामामार्फत् आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न विशेष नगरसभामा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए । यस्तै विधायन समितिका संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेकी थिइन् ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै विशेष नगरसभाका सभाध्यक्ष, नगरप्रमुख पवित्रा महतारा प्रसाईले कानून अत्यन्त आवश्यक भएका कारण विशेष सभाबाट पास गर्नुपरेको र आजकै दिनदेखि लागू हुने अवगत गराइन् । संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्नेमा उनको जोड थियो । ऐन कानून बिना गरेका कामहरुमा असहजता सिर्जना भएको र बेला बेला कानूनी समस्या आउने गरेको स्मरण गर्दै नगरप्रमुख प्रसाईले कानूनको अधिनमा रहेर जनसेवाको काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइन् ।

विशेष नगरसभामा आफ्ना धारणा राख्दै वडा नम्बर ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर समितिका उपसभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि नगरका जनताको हितमा विशेष नगरसभा मार्फत विधेयक पास गरेको बताए । ऐनले सबैलाई अनुशासित बाटोमा हिडाउने भन्दै उनले सबै ऐनहरु कार्यान्वयनमा जोड दिए ।

बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर आज विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो । कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी बस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजत सम्बन्धी कार्यविधि २०७९ पारित गरेको नगर कार्यपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जनाएका छन् ।

जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको आतिथ्यता रहेको विशेष नगरसभामा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सबै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *