Sajhamanch Archive

दमक प्रहरीलाई अपराध नियन्त्रण गर्न माग गर्दै धिमधिमे क्लबको ज्ञापन

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

दमक । गत भाद्र ११ गते गौरादहको धिमचोकमा ठूलो लुटपाटको घटना भयो। कुशेऔंशीको दिन मध्यरातमा २ वटा पसल फ़ुटाएर लुटेराहरु फरार बने। प्रहरीले तत्कालैदेखि अनुसन्धान सुरु गरेको बताए पनि आजसम्म कसैलाई पक्राउ गरेको छैन । आपराधिक गतिविधिमा संलग्नलाई सीसी क्यामेराले राम्रैसँग कैद पनि गरेको छ।

प्रहरीले भन्छ, ‘फुटेजको सहायताले अनुसन्धानमा सहज हुन्छ।’ तर घटना घटेको १० दिन पूरा हुँदा पनि अहिलेसम्म संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। सीसी क्यामेराले मध्यरातमा कैद गरेका तीनजना को हुन् भन्ने विषय अनुसन्धान कै क्रममा रहेको प्रहरीको भनाई छ।

गौरादह क्षेत्रमा चोरी र लुटपाटका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आएको धिमधिमे युवा क्लबले ईलाका प्रहरी कार्यालय दमकमा आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो। यसअघि उक्त संस्थाले गौरादह प्रहरीलाई ध्यानाकर्षण गराइसकेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउन ईलाका प्रहरी कार्यालय दमक पुगेका क्लब पदाधिकारीलाई आश्वासन दिंदै प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले आपराधिक घटनाको अनुसन्धानमा प्रहरीले जिम्मेवारीपूर्वक भूमिका खेलिरहेको बताएका थिए। तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढिरहेको जनाउँदै प्रनाउ गिरीले आपराधिक गतिविधिमा संलग्न हुनेहरु लामो समयसम्म भागेर हिड्न नसक्ने सुनाए।

क्लवका अध्यक्ष प्रविण बस्नेत भन्छन्, ‘हरेक दिन लुटपाट भएको घटना सुनिन्छ, मेरै पसलमा समेत लुटपाट भएको छ, संलग्न गिरोह पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण हो।’

बस्नेतको धिमधिमेस्थित बस्नेत ट्रेडर्समा पसेर लुटेराहरुले झन्डै १ लाख बराबरको नगद र जिन्सी सामग्री चोरी गरेका थिए । उक्त घटनाको सीसी क्यामेरा फुटेज हेर्दा मखुण्डोधारी ३ जना व्यक्तिहरु पसल भित्र छिरेर नगद र जिन्सी उठाउँदै गरेको दृष्य प्रष्ट रुपमा देख्न सकिन्छ।

ध्यानाकर्षण पत्र बुझाएको बारे क्लबका सचिव गुणराज पौडेलले सकारात्मक दवाव पुगोस भन्ने उद्देश्यले प्रहरीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । शान्ति र अमनचयन कायम होस् भन्ने हाम्रो उद्देश्य हो, नागरिक समाजलाई सचेत गराउँदै आपराधिक गतिविधि निस्तेज पार्ने प्रयासमा क्लबले सदैब नेतृत्वदायी भूमिका खेल्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *