Sajhamanch Archive

हिन्दू धर्मका नाममा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिजनक टिप्पणी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएर आपत्तिजनक मन्तब्य दिएका हुन् ।

विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न–मार्न तयार नभएको भन्दै भड्काउने किसिमको टिप्पणी गरेका हुन् ।

‘नेपालका हिन्दु के हिन्दु ? हिन्दु त भारतमा छन्, जसले हिन्दुत्वमा चोट लाग्ने कुरा मात्रै कसैले गर्‍यो भने त्यहाँ मर्न मार्न तयार हुन्छन्,’ लिङ्देनले भने, ‘०६२/०६३ को राजनीतिक परिवर्तनको आडमा नेपाललाई अकारण धर्मनिरपेक्ष घोषणा गरिएको छ । तर पनि यहाँ कोही कसैले पनि कुनै प्रश्न नगरी ढ्यापढ्याप ताली बजाए ।’

लिङ्देनले भनेको कुरामा तथ्यगत त्रुटि त छ नै, उनले आम नागरिकलाई धर्म विशेषको नाममा उक्साउने कामसमेत गरेका छन् । हिन्दु हुनु र हिन्दुत्ववादी हुनु अलग कुरा हो । हिन्दु व्यक्तिगत आस्थासँग जोडिएको कुरा हो, जो व्यक्तिको निजी छनोटको स्वतन्त्रतासँग जोडिन्छ । नेपालको संविधानले त्यो भावनाको सम्मान गरेको छ । त्यसैले संविधानमा धार्मिक स्वतन्त्रता स्पष्ट उल्लेख छ ।

लिङ्देनले भाषणमा दोहोर्‍याई तेहेर्‍याई उल्लेख गरेको हिन्दुत्ववाद चाहिँ भारतीय अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक ‘प्रोजेक्ट’ हो, जसले धार्मिक भावनालाई मतपत्रमा व्यक्त गर्ने, त्यसैको आडमा सत्ता प्राप्त गर्ने लक्ष्य राख्छ । अहिले नरेन्द्र मोदी नेतृत्वको भाजपा यसैको राजनीतिक संगठन हो ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूलाई धर्मको आडमा राजनीति गरेको, लिम्बुको छोरा भएर पनि हिन्दुको कुरा गरेको आरोप लाग्ने गरेको बताए । उनले आफ्नै जीवनकालमा हिन्दूराष्ट्र बनाउन आफू हिँडे्को पनि बताए ।

‘मलाई जेसुकै आरोप लगाए पनि देश र धर्म जोगाउने अभियानबाट पछि हट्ने छैन,’ उनले भने, ‘सके आफ्नै जीवनकालमा हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने अभियानमा आफू हिँडेको छु । नसके पनि यसै अभियानका लागि सकिन्जेल काम गर्नेछु ।’

भारतमा हिन्दू जनसंख्याको बहुलता रहे पनि भाजपा र त्यसको मातृसंस्था आरएसएसले हिन्दु आस्थालाई राजनीतिक रंग दिएर मतमा परिवर्तन गर्दै आएको छ । पछिल्ला दुई दशकमा यसै कारण ठूला साम्प्रदायिक धार्मिक दंगाहरु पनि भएका छन् । धेरै नागरिक मारिएका छन् । नेपालमा यस्तो अवस्था छैन । यस्तो परिप्रेक्ष्य हुँदाहुँदै पनि लिङ्देनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले धर्मको नाममा, या धर्मको आडमा राजनीति गर्ने प्रयास नै अनुचित भएको भन्दै लिङ्देनको अभिप्रायको खण्डन गरे । धर्मलाई व्यक्ति, समुदायको आस्थामै सीमित राख्नुपर्ने, राजनीतिक औजार बनाउन नहुनेमा उनले जोड दिए ।

भारतमा झैं नेपालका हिन्दु किन जाइ लागेनन् भनी उक्साउनुभन्दा नेपालको विशेषता चिन्न उनले जोड दिए । ‘नेपालको विशेषता भनेकै धार्मिक सहिष्णुता हो, जुन अन्यत्र कमजोर भएको पनि हुन सक्छ,’ उनले भने, ‘त्यसैले नेताहरुले धर्मको नाममा राजनीति गर्नुहुँदैन, सहिष्णुतालाई कमजोरी ठानेर चुनौती दिने काम कसैले गर्नु हुँदैन ।

ज्ञवालीले भारतमा राजनीति असहिष्णुतातर्फ गएको, नेपालमा संविधानले नै सनातनदेखि मान्दै आएको धर्म र संस्कृतिलाई महत्वसाथ उल्लेख गरेको प्रसंग सम्झाउँदै यसमा गौरव गर्न सिक्नुपर्ने बताए ।

राप्रपालगायत केही समूहहरुले धर्मनिरपेक्षताको बारेमा निरन्तर प्रहार गरिराखे पनि यो लोकतन्त्रकै अंग भएको नेताहरु बताउने गर्छन् । नेपालमा कांग्रेसले २०१२ सालमै धर्मनिरपेक्षता समेटेर घोषणापत्र लेख्यो, जुन बेला यसका नेता बीपी कोइराला थिए ।

एमालेको औपचारिक दस्तावेज जनताको बहुदलीय जनवादले २०४९ सालमै धर्मनिरपेक्षता उल्लेख गरेको छ । प्रायःजसो दलहरुको सन्दर्भमा पनि पहिलेदेखि यही उल्लेख भए पनि अचानक ४ जेठ ०६३ मा संसदमा छिराइएको जस्तो गरी केही नेता लगायतले गलत तथ्य पेश गरिरहेका छन् ।

लिङ्देनले पनि यसैमा जोड दिए । उनले धर्म निरपेक्षताकै कारण धर्मान्तरण बढेको गुनासो गरे । ‘यसरी धर्म परिवर्तन गराउने काम भइरहँदा पनि किन टुलुटुलु हेर्ने काम भइरहेको छ ?’ उनले कार्यक्रममा प्रश्न गरे ।

एमाले नेता ज्ञवाली भने धर्म निरपेक्षताको बुझाइमा अलमल गराउन खोजिएको बताउँछन् । यसलाई धर्मान्तरणसँग जोड्नु गलत नियत भएको उनले बताए ।

‘धर्मान्तरण त जुनसुकै कारणले, जसले गराए पनि गलत नै हो, तर यसलाई धर्मनिरपेक्षतासँग जोड्नु चाहिँ उचित होइन,’ ज्ञवालीले भने, ‘हामी कुनै पनि धर्मलाई राज्यले काखापाखा नगर्ने, सबै धर्मसंस्कृति प्रति समान नजर र सम्मान व्यक्त गर्ने नीतिका पक्षधर हौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *