Sajhamanch Archive

संजिवनी साकोसको अध्यक्षमा चुडाल चौथोपटक निर्विरोध, नयाँ नेतृत्व सर्वसम्मत चुनियो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

झापा । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरिएको छ ।

हिजो भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको र आज उम्मेदवारी फिर्ता लिने समयभित्रै आकांक्षीहरुले सहमति गरेर आवश्यक संख्यामामात्र सदस्यहरु कायम रहेकाले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जनाएका छन् ।

संस्थाको विनियम र सहकारी ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने गरी ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि हिजो मनोनयन दर्ता हुँदा सञ्चालक समिति सदस्य पदमा ५ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको थियो । तर आकांक्षीहरुले आज आपसी समझदारी गरेर ३ महिला र २ पुरुषको मात्र उम्मेदवारी कायम गरी अन्यले फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

निर्वाचन अधिकृत दाहालको हस्ताक्षरमा प्रकाशित उम्मेदवारहरुको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा यामकुमार चुडाल, उपाध्यक्षमा दिनेशकुमार सुवेदी, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शिवबहादुर कटुवाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सञ्चालक समिति सदस्यहरुमा अनिता गौतम, सितादेवी कार्की, तारा कार्की, शिवबहादुर दाहाल र मोहनप्रसाद भट्टराई सर्वसम्मत भएको जनाइएको छ ।

संस्थाको ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए । उनका अनुसार लेखा सुपरीवेक्षण समितिको संयोजकमा कमला शिवाकोटी तथा सदस्यहरुमा मिलन कोइराला र धनपति मैनाली पनि निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र तथा सपथग्रहण आगामी असोज ८ गते वार्षिक साधारणसभाको दिन गरिने सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *