झापामा खुल्यो इन्जिनीयरिङ कलेज, यसैवर्ष देखि पढाई हुने
Published:
by .झापा । पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालिको स्वामित्वमा अर्जुनधारा ११ बिर्तामोड नयाँ बसपार्कमा स्थापित पाथीभरा इन्जिनियरिङ कलेज यो वर्षबाट सञ्चालनमा ल्याइने भएको छ ।
संरचना निर्माण गरेको १२ वर्षपछि बल्ल पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको सो शैक्षिक पतिष्ठानको व्यवस्थापनले आज पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी गराएको हो ।
पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालिका अध्यक्ष युवराज प्रसाईले अनेकन अप्ठ्याराहरू सहेर आजको दिन आएको बताए । अब घरको भात खाएर यहाँका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनेछन् ।
२०६९ सालमा सम्बन्धनका लागि निवेदन दिइएको र अब कक्षा सञ्चालन गर्न मिल्छ भनेर इन्जिनियरिङ काउन्सीलले स्वीकृति दिई उतिबेलै ४५ हजार रुपैयाँ शुल्क तिरसकेको अवस्थामा विश्व विद्यालयमाथि आइपरेका अनेकन समस्याका कारण सम्बन्धन दिन रोकिएको अध्यक्ष प्रसाईले बताए ।
उनका अनुसार अब काठमाडौंभन्दा कम शुल्कमा यहाँ इन्जिनियरिङ अध्यापन गराइनेछ भने सर्वसाधारणको अध्ययनमा पहुँच पुग्नेगरी ‘फि स्ट्रक्चर’ तयार गरिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै सो शैक्षिक प्रतिष्ठानका सिइओ अनुज पराजुली आफ्नो शिक्षालयमा अध्यापन थालेपछि विदेश जाने विद्यार्थी रोक्न मद्दत पुग्ने बताए । उनले पाथीभरा इन्जिनियरिङ कलेजमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तरमा ध्यान दिइने, योग्य अध्यापकहरु छनोट गरेर अवसर दिने सुनाए । यति गरेपछि अहिले राजधानी काठमाडौ र विदेशबाट पनि यहाँ पढ्न आउने प्रतिष्ठानका सिइओ पराजुलीले जानकारी दिए ।
पाथीभरा इन्जिनियरिङ कलेजमा यो वर्षदेखि ३ वटा विषयमा अध्ययन अध्यापन हुने पराजुलीले बताए । स्नातक तहको कक्षा सञ्चालन गर्न यो वर्ष तीनवटा विभागमा ४८–४८ जनाको दरले भर्ना लिइनेछ । सो कलेजमा राज्यले नै पठाएका १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँने पनि अवगत गराएको छ ।
Comments