Sajhamanch Archive

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता, कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज, by .

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

अर्कोतर्फ बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा गएराति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *