Sajhamanch Archive

पाँच लाखभन्दा बढी नाफा कमायो जनशक्तिले

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोड– ४, भद्रपुररोडमा केन्द्रीय कार्यालय रहेको जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ.व. २०७८/०७९ मा जनशक्ति साकोस ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न आठौ साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाले सो जानकारी दिएका हुन् ।

संस्था कै सभाहलमा आयोजित साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार आ.व. २०७८/०७९ मा संस्थाले दुई करोड ५ लाख ४६ हजार ९३२ रुपैयाँ आम्दानी गरेको छ भने दुई करोड एक लाख ४३ हजार ९३२ रुपैयाँ खर्च भएको छ । यस्तै शेयर पुँजी दुई करोड ४२ लाख ५६ हजार पुगेको छ भने सात करोड ७९ लाख ७५ हजार ८१३ रुपैयाँ निक्षेप संकलन र लगानीमा रहिरहेको रकम १४ करोड १० लाख २९ हजार ६०६ रुपैयाँ रहेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।

२ हजार ३३९ पुरुष, २ हजार ९८९ महिला र ३२६ बाल सदस्य गरी शेयर सदस्यको संख्या ५ हजार ३२८ पुगेको छ । संस्थाले बिर्तामोड, गोलधाप, सुरुङ्गा, राजगढ, शनिश्चरे र चन्द्रगढीमा सेवा केन्द्र सञ्चालन गरेर आफ्ना सदस्यहरुलाई सहज ढंगले वित्तीय सेवा पुर्याइरहेको अध्यक्ष कन्दङ्वाको भनाई छ ।

संस्थाका सचिव मणिराज दंगालले सञ्चालन गरेको साधारणसभाको प्रमुख अतिथि प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीले उद्घाटन गरेका थिए । मन्त्री दर्लामीले शुभकामना मन्तव्य राख्दै सहकारीहरुलाई कृषिमा लगानी बढाउन आग्रह गरेका थिए । सहकारी संस्थाहरुको तर्फबाट कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न सेवाकेन्द्रका उत्कृष्ट कर्मचारलाई पुरस्कृत गरिएको थियो । संस्थाले बचत तथा ऋणको कार्यक्रमसँगै सदस्य केन्द्रित सुविधाका योजनाहरु पनि सञ्चालन गर्दै आएको छ । सदस्यहरुलाई उपचार सहयोग लयागत अन्य किसिमका राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष कन्दङ्वाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *