Sajhamanch Archive

बिर्तामोडका देवी पोख्रेल कालीझोडा जंगलमा मृत फेला

Published: in मुख्य समाचार, समाज by .

बिर्तामोड । इलाम जाने भनी चार दिनदेखि घर बाहिर रहेका बिर्तामोड ४ का देवीप्रसाद पोखरेल आज अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायीक वनमा मृत फेला परेका छन् ।

हिजो बेलुका ४ बजेसम्म पोखरेल परिवारको सम्पर्कमा नै रहेका थिए । ‘टेलिफोन सम्पर्क भइरहेको थियो र हिजो घर आउने दिन थियो’ नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्षसमेत रहेकी पत्नी सुशिला संग्रौलालाई उधृत गर्दै आयुषा चुडालले बताएकी छन् ।

परिवारका साथमा स्वर्गीय पोखरेल

हिजो ४ बजेपछि परिवारको सम्पर्कमा नरहेका पोखरेलको शव आज बिहान चारआलीको जंगलमा भेटिएको हो । घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र हुलिया देखेर आउनेहरुले शवको पहिचान गरेको बताइएको छ ।

उक्त शव बिर्तामोड ४ बस्ने ५४ वर्षीय देवीप्रसाद पोख्रेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले पुष्टि गरेका छन् ।

पत्नी सुशिलाका साथमा स्वर्गीय पोखरेल

मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशिला संग्रौलाका श्रीमान हुन् ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले पोखरेलको शवको भद्रपुरमा पोष्टमोर्टम भइरहेको र सो प्राप्त भएपछि आजै अपरान्ह ४ बजे कनकाई माईमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *