फूलपातीका दिन कनकाईमा सन्थाल नृत्य प्रतियोगिता गरिने
Published:
by .कनकाई । खेलकुदसँगै सामाजिक र अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ ।
“खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणका लागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघिमात्र सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट स्थानीय युवा सामाजिक अभियन्ता छवि थपलियाको नेतृत्व पाएको प्रतिष्ठानले नयाँ समितिको पहिलो बैठकबाट भएको निर्णय अनुसार आफ्नो गतिविधि अघि बढाएको जनाइएको छ ।
यसै अवसरमा प्रतिष्ठानले बडादशै २०७९ को फूलपातीका दिन कनकाई माविको खेलमैदानमा जिल्लास्तरीय सन्थाल मेलाको आयोजना गरेको छ । सन्थाल संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष बडादशैंको फूलपातीका दिन कनकाईमा सन्थाल मेलाको आयोजना गर्ने प्रतिष्ठानले जनाएको छ ।
सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराउँदै प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलाप समेत संचालन गर्दै जाने योजना बनाएको बताए ।
यसै सन्दर्भमा लोप हुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ बडादशैको अवसर पारेर बृहत सन्थाल नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
प्रतियोगितात्मक सन्थाल मेलाका लागि हाल झापाको विभिन्न स्थानमा बसोबास गर्दै आएका सन्थालहरुले समूह दर्ता गरिरहेको बताइएको छ । कार्यक्रममा जिल्लाभरका १८ वटा सन्थाल समूहको सहभागिता रहने प्रतिष्ठानक उपाध्यक्ष हरि कार्कीले जानकारी दिएका छन ।
प्रतियोगितात्मक सन्थाल मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुईजना र अन्य तीनजना गरी पाँच सदस्यीय निर्णायक समिति रहने पत्रकार सम्मेलनमा उपाध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतियोगितामा पुरस्कार स्वरुप प्रथमले नगद ३१ हजार, द्वितीयले नगद २५ हजार, तृतीयले नगद २१ हजार, चौथोले नगद १८ हजार र पाँचौंले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अर्का उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् ।
Comments