Sajhamanch Archive

मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचन क्षेत्रमै कार्यालय स्थापना हुने, विगतजस्तो सदरमुकाममा भिडभाड नहुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ सम्पन्न गर्नका लागि यो पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै निर्वाचन कार्यालय सञ्चालन गरिने भएको छ ।

जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले यसपटको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय असोज २० गतेभित्र खुलिसक्ने जानकारी दिएका छन् ।

उनका अनुसार निर्वाचन क्षेत्र नं. १ को कार्यालय मेचीनगरमा, निर्वाचन क्षेत्र नं. २ को कार्यालय अर्जुनधारा नगरपालिकामा, निर्वाचन क्षेत्र नं. ३ को कार्यालय जिल्ला समन्वय समिति भद्रपुरमा, निर्वाचन क्षेत्र नं. ४ को कार्यालय कनकाई नगरपालिकामा र निर्वाचन क्षेत्र नं. ५ को कार्यालय दमकमा रहने छन् ।

ती निर्वाचन कार्यालयहरु मध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा ल्याइएको छ । प्रतिनिधि सभाका ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको झापामा सवै निर्वाचन क्षेत्रहरूको समन्वय गर्ने गरी मुख्य निर्वाचन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जिल्ला समन्वय समिति झापाको कार्यालयबाट सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले झापा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र दुईवटै प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्यालय स्थापना गरिएको हो ।

झापामा रहेका राजनीतिक दल, सञ्चारकर्मी, प्रहरी, प्रशासनका प्रमुखहरुको उपस्थितिमा सो कार्यालयको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालले गरेका हुन् ।

कार्यक्रममा स्वागत गर्दै जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि झापाबासीको उत्साहप्रद सहभागितामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले झापा जिल्लामा दलीय एकताले निर्वाचन सफल पार्न महत्वपूर्ण सहयोग हुने गरेको भए पनि स्थानीय तह निर्वाचनमा अन्तिम समयमा निर्वाचन आचारसंहिता उल्लंघनका केही घटना देखिएकाले यस निर्वाचनमा त्यस्ता घटना दोहोरिन नहुने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि रमेश पोखरेल, नेकपा एमालेका अशारू राजवंशी, नेकमा समाजवादीका वेदराज रेग्मी, राप्रपाका अभिषेक ढुंगाना लगायतले धारणा राख्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण झापा जिल्लाका श्रेस्तेदार वीरेन्द्र बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *