Sajhamanch Archive

हाम्रो शिक्षा र श्रम बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by .

शिक्षाको सम्बन्ध व्यक्तिको विकाससँग हुनुपर्छ । व्यक्तिको व्यक्तित्व विकास तब हुन्छ जब मानिस शिक्षित र सभ्य अनि सुसंकृत हुन्छ । व्यक्ति सभ्य र सुसंस्कृत हुन उसको आय आम्दानी सन्तोषजनक हुनुपर्छ । यसोभनौं, जब व्यक्ति आर्थिक रुपमा सबल सक्षम र स्वतन्त्र हुन्छ अनिमात्र व्यक्ति आर्थिक रुपमा सबल, सक्षम र स्वतन्त्र हुन्छ । अनिमात्र व्यक्ति सभ्य, शान्त र सुसंस्कृत बन्छ । यसोहुन उसले जीवन निर्वाहको क्रममा केही न केही पेशा–व्यवसाय वा रोजगारी हुनुपर्छ । जीविकोपार्जनका निम्ति ऊ स्वावलम्बी र आत्मनिर्भर पनि हुनुपर्छ । जसका निम्ति कोरा सैद्धान्तिक शिक्षा वा आजभोलि हाम्रो देशमा चलेको सामान्य साधारण शिक्षाले केही उपलब्धि हात पर्दैन । गरिखाने व्यवहारिक र व्यवसायिक शिक्षाले मात्र व्यक्तिलाई स्वावलम्बी र आत्मनिर्भर बनाउँछ । अतः यस्तो शिक्षाको महत्व अधिक हुन्छ जसले कुनै व्यवहारिक ज्ञान वा सिपले सम्मानपूर्वक बाँच्न सकोस ।

            राजेन्द्र प्रसाई

आर्थिक उपार्जनमा त्यस्तो शिक्षा प्रभावकारी र उपयोगी बन्न सकोस । शिक्षा लिइसकेर प्रमाणपत्र हातमा लिएपछि उसलाई अब के गरी खाऊँ र कोसँग जागिर मागौँ वा के व्यवसाय गरौँ ? भन्ने समस्या उसको जीवनमा नआओस् । अबको युगमा यस्तो शिक्षामात्र महत्वपूर्ण र जीवनोपयोगी हुनसक्छ । तर दुःखपूर्वक यस्तो भन्न बाध्य हुनुपर्छ कि, हामीले हाम्रा बालबालिकालाई यसप्रकारको शिक्षा दिन सकेनौं । हाम्रो शिक्षा प्रणालीले यस्ता व्यवसायिक सिप, दक्षतापूर्ण जनशक्ति उत्पादन गर्न सकेन । कोरा सैद्धान्तिक ज्ञानकै शिक्षाले नेपाली नागरिकलाई गरिखाने बनाउन सकेन । आत्म निर्भर र स्वावलम्बी बनाउन सकेन । जागिर खाने नागरिक मात्र उत्पादन गर्ने हाम्रो शिक्षा पद्धति पूर्णतः असफल मान्नु पर्दछ ।

साना–तिना सामान्य व्यवहारिक ज्ञान र साधारण प्राविधिक सिप पनि नहुँदा हामी आफ्नो घरायसी व्यवहारिक जीवनको व्यवस्थापन पनि गर्न सक्दैनौं । विश्व विद्यालयबाट उत्पादित जनशक्ति पनि विश्व श्रम बजारको त कुरै छाडौं, राष्ट्रि«य श्रम बजारमा पनि काम पाउन योग्य छैनन् । तिनमा श्रमप्रतिको सम्मान भाव पनि छैन र श्रमको मूल्य र महत्वसमेत नबुझ्नाले श्रम र श्रमजीवीलाई नै हेला गर्ने प्रवृत्ति बढ्दो छ । जसका कारण नेपाली श्रम बजारमा समेत भारतीय वा विदेशीहरु खपत भइरहेको प्रष्ट छ ।

एकातिर हाम्रो शैक्षिक नीति–पद्धति यस्तो छ भने, अर्कातिर लाखौँको संख्या हरेक वर्ष शिक्षित युवायुवती आफ्नो पढाई पूरागरी सर्टिफिकेट हातमा बोकेर कामको खोजीमा भौतारिइरहेका छन् । यसरी शिक्षित बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दो छ । शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनेका हाम्रा स्कूल कलेजमा सरकारी लगानीको एउटा ठूलो हिस्सा खर्च भइरहेको छ । शिक्षित युवा जति ऋण गर्दै विदेशिने क्रम केही वर्षदेखि निरन्तर बढ्दो छ ।

स्वदेशमा नै त उपयोगी हुन नसकेको कोरा ज्ञानको शैक्षिक योग्यता अनुरुपको काम प्राप्त हुने त कल्पनै नगरौँ । सामान्य अदक्ष श्रमिकको रुपमा सबैभन्दा निम्नस्तरको शारीरिक श्रम गर्ने मजदूरको रुपमा हाम्रा युवायुवतीले विदेशमा काम गरिरहेका छन् । अति सस्तो मूल्यमा आफ्नो शारीरिक श्रम उनीहरुले बेचिरहेका छन् । स्वदेशमा जे जस्तो र जति नै उच्चस्तरका कामदार मजदूरको रुपमा सीमित देखिन्छ ।

आफूले विद्यार्थीकालमा सिकेको ज्ञान सीपको सदुपयोग उनीहरु आफ्नो पेशागत वा व्यवसायिक जीवनमा गर्न सक्दैनन् । केवल ज्ञान, सीपहीन तल्लोस्तरको निम्न मजदूरको रुपमा उनीहरु काम गर्न बाध्य र विवश छन् । स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेको भएपनि विदेशमा हाम्रा युवा युवतीले पाउने काम भनेको होटलमा, कारखानामा, व्यवसायिक, व्यापारिक भवनमा अति निम्नस्तरको मजदूरको रुपमा मात्र काम पाउँछन्, त्यो पनि अत्यन्त सस्तो ज्यालामा ।

माथिको तथ्यले के पुष्टि गर्दछ भने हाम्रो देशको शैक्षिक नीति कार्यक्रम वा समग्र शिक्षा प्रणाली असफल भइरहेको छ । राज्यको ठूलो लगानी यस्तै प्रकारको शैक्षिक बेरोजगार उत्पादन गर्न खर्च भइरहेको छ । सरकारको शिक्षामा लगानी बालुवामा पानी बराबर भइरहको छ । हाम्रो श्रमबजार र शीक्षा नीति वा कार्यक्रमको आपसमा कुनै सम्बन्ध वा समन्वय नै छैन । विश्व श्रम बजारमा कस्तो जनशक्तिको आवश्यकता छ, सोही अनुरुपका शैक्षिक जनशक्ति उत्पादन भएको भए आज नेपाली युवायुवती यसरी बेरोजगार रहनुपर्ने पनि थिएन र विदेशिनु पर्ने पनि थिएन ।

खाइ–नखाई कति दुखले आफ्ना छोराछोरी पढाउने गरिब अभिभावकको यत्रो लगानी खेर गइरहेको छ । आफ्ना छोरा छोरीले पढिसकेर योग्यता अनुरुपको काम पाउँछन् र आफ्नो जीवन सहजतापूर्वक सम्मानका साथ जिउनेछन् भन्ने कुनै निश्चितता छैन । भोलि आफ्ना सन्तानले के गरी खालान् भन्ने पीर अभिभावकमा रहेकै हुन्छ । अनि विदेशमा श्रमिक मजदूरीको रुपमा कष्टपूर्वक काम गरी बाँच्नु पर्ने हुन्छ ।

वर्तमानको हाम्रो यस्तो अव्यवहारिक सैद्धान्तिक शिक्षाको के अर्थ र औचित्य ? किन पढाउनु छोरा, छोरी ? साधारण शारीरिक श्रम गरी कामदार मजदूरका जीवनका लागि त १० कक्षाको शिक्षाले पुगिहाल्छ । अनि यतिका उच्च विद्यालय कलेजहरु, विश्वविद्यालयको के औचित्य ? अर्थहीन, उपयोगहीन, व्यर्थमा यत्तिको सरकारी बजेट खर्च गरेर उच्च शिक्षामा किन लगानी गरिरहनु ? बरु अन्य भौतिक विकास, पूर्वधार विकास निर्माण लगानी खर्च गरे हुदैन ? शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानारुपी कलेजहरु उच्च शिक्षा दिने भनिएका विभाग, संकाय वा विश्वविद्यालयका निम्ति गरिब देशका गरिब जनताको यत्रो लगानी किन गरिरहनु ?

चित्त बुझ्दो जवाफ कतैबाट पाइँदैन । बरु अब विद्यार्थीहरुले माथिका हरेक प्रश्नको उत्तर खोज्दै आफ्नो पढाईलाई व्यवहारिक, व्यवसायिक एवम् सीपयुक्त बनाउनु पर्छ । शिक्षा क्षेत्रका नीति निर्माताहरुले अझै व्यवसायिक र व्यवहारिक शिक्षालाई उत्तिधेरै प्राथमिकता नदिई सिद्धान्तलाई घोकाई रहेका छन् । तर विद्यार्थीहरुले सो को प्रतिवाद गर्दै सैद्धान्तिकसँगै व्यवहारिक शिक्षाको लागि विद्रोह गर्नुपर्छ । हिजो एउटा राजनीतिक शक्तिले बुर्जुवा शिक्षा भनेर स्कूल क्याम्पस नै तहसनहस बनाएको स्मरण गर्दै अब विद्यार्थीले पनि सैद्धान्तिकसँगै व्यवहारिक शिक्षाको लागि आवाज उठाउनु पर्छ । हामी शिक्षकहरु सैद्धान्तिक र व्यवहारिक शिक्षाको पक्षमा आवाज उठाउनेहरुको पक्षमा लागिरहन्छौं ।

(सहायक क्याम्पस प्रमुख, मनकामना कलेज)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *