आम्दानीको राम्रो स्रोत बन्दै बट्टाई पालन
Published:
by .सानो पंछी बट्टाईको ब्यवसायिक पालनले बिर्तामाड नगरपालिका बडा नं. १० का लक्ष्मी पाठकको घर गृहस्थी राम्ररी चलेको छ । ४ वर्ष अघिदेखि ब्यवसायिक रुपमा बट्टाई पालन थालेका पाठक परिवारको आयको मुख्य स्रोत बट्टाईको अण्डा र मासु रहेको कृषक पाठक बताउँछन् ।
हरियाली बट्टाई फर्म नामको कृषि फर्म सञ्चालन गरेर पाठक परिवारले ४ वर्ष अघिदेखि ब्यवसायिक रुपमा बट्टाईपालन गर्दै आएका हुन् । हरियाली बट्टाई फर्ममा हाल दुई हजार वटा बट्टाई पालिएका छन् । ठूलो संख्यामा र ब्यावसायिक रुपमा बट्टाई पाल्दा राम्रै फाइदा हुने गरेको कृषक पाठकको अनुभव छ ।
बट्टाई चराको तौल १२० देखि ३०० ग्रामसम्म हुने जानकारी दिँदै कृषक पाठकले भने भालेभन्दा पोथी केही ठूलो हुन्छ । बट्टाइले ६–७ हप्ताको उमेर पुगेपछि अण्डा पार्न सुरु गर्दछ । एउटा पोथी बट्टाईले एक वर्षमा २५० देखि ३०० वटासम्म अण्डा पार्ने कृषक पाठक बताउँछन् ।
बटाईको फुल (अण्डा) केही खैरो र छिर्केमिर्के विभिन्न रंगका हुन्छन् । बट्टाईलाई कुखुराजस्नै खोरमा थुनेर पालिन्छ । बटाई पालन गर्दा अरु पन्छी र जनावर पाल्नलाई जस्तो धेरै मेहनत गर्नु पर्दैन रहेछ, कृषक पाठकको अनुभव छ ।
यो चराले प्रतिदिन २५ ग्राम जति दाना र ५० मिलिलिटर जति पानी पिउँछ । बट्टाईलाई करिब ४५ दिनको उमेरदेखि बिक्री गर्न सकिने पाठकले बताए । बट्टाईको मासु वा अण्डा सेवनले विभिन्न किसिमका क्यान्सरको रोकथाम, टिबि, दम, सुगरजस्ता रोगको औषधीको काम पनि गर्दछ । अण्डा वा मासुको नियमित सेवनले तौल सन्तुलनमा रहने, स्मरणशक्ति बढ्ने, हड्डी बलियो हुने व्यवसायीहरुको भनाई छ ।
बट्टाई पालन गरेर पाठक परिवारले बिर्तामोड वडा नं. १० बिराटपोखरमा आठ धुर जग्गा र त्यसमा ४ कोठाको पक्की घरसमेत बनाएको लक्ष्मी पाठकले बताएका छन् । सुरुमा घरमा खान केहीमात्र बट्टाई पालेकोमा केहीथान बिक्री गर्दै राम्रो आम्दानी भएको महसुस गरेपछि ब्यवसायिक रुपमा पालेको उनले बताएका छन् ।
प्रशिक्षार्थी
Comments