फस्टाउँदैछ शहरमा कौसी खेती : न विषादीको डर, न महङ्गीको मार
Published:
by .बिर्तामोड । घरका छत र बरन्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने प्रचलन तीब्ररुपमा बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भागहरु जस्तो बरन्डा, बार्दलीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो ।
शहरमा सीमित जग्गा हुने अग्ला र घनाबस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ ।
पछिल्लो समय कोरोना महामारीले गर्दा लकडाउन भएको समयमा शहर बजारतिर कौसी खेतीको प्रयोग झन् बढ्दै गएको हो । कोरोनाका कारण व्यापार, व्यवसाय बन्द भएर आर्थिक सङ्कटबाट गुर्जिएको अवस्थामा मानिसहरूले कौसी खेतीलाई झन् बढी प्राथमिकता दिएको पाइएको छ ।
धेरै समय दिइरहनु नपर्ने भएकाले शहर बजारमा कौसी खेती मौलाउँदै गएको पाइन्छ । थोरै मेहनतले आफ्नै घरमा अग्र्यानिक तरकारी उब्जाउन सकिने भएकाले समयको सदुपयोग र घरमा भएका थोत्रा भाँडाकुडा प्रयोेग गरेर मानिसहरूले आफ्नो घरको छत, कौसीमा तरकारी लगाउन थालेका हुन् ।
बिर्तामोड १ की रमा बस्नेतको सात आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्ड भित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेकी छिन् । रमाले कौसीमा तरकारी र फलफूल फलाउन थालेको दुई वर्ष भयो ।
‘रुख कटहर, आलु, इस्कुस, निगुरोमात्र मैले बजारबाट किन्नुपर्छ, बाँकी सबै घरमै फल्छ’ बस्नेतले भनिन् । घिरौँला, बोडी, साग, लसुन, प्याजजस्ता सबै खाले सिजनको तरकारी घरमै फलाउने गरेको उनले सुनाइन् ।
त्यस्तै बिर्तामोडकै घन्टीबारीमा रहेको तीन तले घरको छतमा कोपिला विष्टले हरियाली तरकारी तथा फलफूल बगैंचा बनाएकी छिन् । छिमेकी घरमा गरिएको खेती देखेर आफूलाई पनि गरौँ–गरौँ लागेको र अहिले बजारमा तरकारी किन्न खासै जान नपरेको उनले सुनाइन् ।
‘आलु लगायतका तरकारी मात्रै किन्ने हो अरु त पर्दैन’ विष्टले भनिन् ‘घरको तल रहेको जमिन, छत र कौसीमा फलेको तरकारीमा विषादी पनि नहुने र बजारको महँगीबाट पनि जोगिने रहेछ ।’
एक वर्षदेखि छतमा तरकारी फलाइरहेको उनले बताइन् । उनको घरको छतमा काउली, काँक्रोदेखि कागतिसम्म फल्ने गरेको छ ।
घरमा निर्वाहमुखी तरकारी तथा फलफूल खेती गर्न ठूलो खर्च नलाग्ने विष्ट बतउँछिन् । सानो खेती गर्न घरबाटै उब्जनी भएको खाद्यमल, घरकै पुराना भाँडाकुँडाले पुग्ने उनको अनुभव छ ।
दैनिक व्यायामको लागि छुट्याइने समय मात्रै खर्च गर्ने हो भने पनि घरमै गज्जबको खेती गर्न सकिने शनिश्चरेकी मैयाँ थापाको भनाई छ । उनले कौसी खेती गर्न थालेको ६ वर्ष भयो । उनी सिजन अनुसार कौसीमा मनग्ये तरकारी फलाउँछिन् ।
‘हरेक सिजन अनुसारको बिउ रोप्ने र सामान्य रेखदेख गर्ने हो, मर्निङ वाकको समय वा घरमा बस्दा बोर लागेको समय यसका लागि छुट्याए पुग्छ’ उनी भन्छिन् ‘दैनिक आधा घण्टाको मेहनतले कुनै सिजनमा आफ्नो परिवारलाई पुर्याएर पनि आफन्त नाता गोतालाई समेत बाँड्न पुग्ने गरेको छ ।’
घरायसी प्रयोगका लागि फलाइने भएकाले कौसी खेतीको उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग दुर्लभ हुने गरेको थापा बताउँछिन् । घरको भान्सामा उत्पादन हुने फोहोरबाटै मल बनाउन सकिने र आफूले चाहेको बेलामा बजारबाट किनेरै भए पनि अर्गानिक मल घरमै उत्पादन गर्न सकिने उनको भनाई छ ।
Comments