घनश्याम भूसालको यो स्टाटस, आवेग कि सन्देश !
Published: (Updated: )
by .झापा। आसन्न निर्वाचनमा उम्मेदवारी नपाएको झोंकमा आज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपमहासचिव घनश्याम भूसालले फेसबुक टाइमलाइनमा स्टाटस लेखेर एमाले त्यागेको घोषणा गरेका छन् ।
माक्सवादका अध्येता तथा विचारक मध्येका अध्यययनशील एवम् वौद्धिक नेताको परिचय बनाएका नेता भुसालले जानी बुझी सामाजिक सञ्जालमा स्टाटस राखेका हुन् कि आवेगमा ! प्रश्न विचरणीय छ ।
उसो त एमालेबाट एकल उम्मेदवार सिफरिस भएका भुषालका सहयात्री रविन कोइराला पार्टीमा प्रतिवद्ध भएर काम गर्न अग्रसर छन् । उनको क्षेत्रमा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले टिकट पाउँदा कोइराला हाँसीहाँसी सघाउन तयार छन् । तर भुषाल किन आवेशमा आए भन्ने प्रश्न खडा भएको छ ।
भुषालले आफ्नो स्टाटसमा ‘पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको’ लेखेका छन् ।
उनले लेखेका छन्, ‘म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
उनले थप लेखेका छन्, ‘नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।’
समाचार स्रोतका अनुसार एमाले परित्याग गरेका भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । कतिपय सञ्चार माध्यमहरुले भुसाल एमाओवादीमा प्रवेश गर्ने र उम्मेदवार बन्ने पनि लेखेका छन् । तर भुसाल निकटवर्तीहरुका अनुसार उनले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।
Comments