Sajhamanch Archive

‘मुलुकको कुनै पनि शक्तिले अब एमालेको सरकार रोक्न सक्दैन’ : प्रदेशसभा सदस्य कार्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमाले प्रदेश कमिटीका सदस्य एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा एमालेकोे सरकार बन्ने दावी गरेका हुन् ।

मुलुकको कुनै पनि तागत र शक्तिले एमालेको सरकार बनाउन रोक्न नसक्ने भन्दै उनले विकास, समृद्धि र सुशासनको लागि नेकपा एमालेलाई भोट हाल्न जरुरी रहेको प्रष्ट पारेका छन् ।

एमाले नेता कार्कीले स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नरहेको जिकिर गर्दै संसदीय निर्वाचनमा बहुमतको सरकार बन्ने र अल्पमत प्रतिपक्षमा रहने भएकाले एक दुई स्वतन्त्रको अर्थ नरहने बताएका हुन् । हजारौं मान्छेहरुको बलिदानबाट आएको लोकतन्त्र माथि धावा बोल्दै स्वतन्त्रका नाममा दलका केही व्यक्तिहरु आएकोले यसको अर्थ नरहने र यो पानीको फोकाजस्तै रहेको सुनाएका छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विचार र राष्ट्रियताका बारेमा सहमत नभएका पार्टीहरु एक आपसमा जोडिएर बनेको सत्ता गठबन्धनको पनि औचित्य नरहेको टिप्पणी गरे । नेकपा एमाले राष्ट्रवादी शक्ति रहेको र राष्ट्रियताको सवालमा कोही कसैसँग नझुकेको उनको भनाई छ ।

नेता कार्की यतिबेला चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदाताहरुसँग भेटघाट गरिरहेका छन् । कार्कीसँग सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार पुष्पराज पोखरेल चुनावी मैदानमा छन् । बिर्तामोड वडा नं. ७ निवासी एमाले नेता कार्की गएको प्रदेश सभाको निर्वाचनमा भारी मतले निर्वाचित भई एक कार्यकाल प्रदेशसभा सदस्य बनिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *