मेची अस्पताल भद्रपुरमा हरेक वर्ष १७० भन्दा बढी हिंसा पिडीतको उपचार !
Published:
by .भद्रपुर । मेची प्रादेशिक अस्पतालबाट हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख वजेट प्रस्तावित गरी चालू आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखेको जनाइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित आजको बैठकमा उक्त लक्ष्य निर्धारण गरिएको हो । लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको एकद्वार उपचार केन्द्रलाई मेची अस्पतालले वार्षिक उपचारका लागि सो बजेटमार्फत सेवा प्रवाहको लक्ष्य निर्धारण गरिएको जनाइएको छ ।
बैठकमा समितिका सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाराकोटीले सो शीर्षक अन्तर्गत हरेक वर्ष १७० जनाभन्दा बढी हिंसा पीडितले निःशुल्क सेवा पाउँदै आएको तथ्याङ्क सुनाएका थिए । मेची प्रादेशिक अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेको जनाइएको छ ।
प्राप्त विवरण अनुसार १४ वर्ष मुनिका हिंसापिडीत बालिकाको संख्या ५० प्रतिशत बढी देखिएको छ । जसमा यौन हिंसा पीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसा लगायत अपराधबाट पीडितहरु उपचारार्थ आउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा पेश गरिएको विवरण अनुसार हिंसा पीडितको सूचिमा बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाबाट बढी मात्रामा सेवा लिन आउने गरेको पाइन्छ ।
विभिन्न सरोकारवाला संघ–संस्थाले उद्धार गरे पनि हिंसा पीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्ष मार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिँदै आएको समितिका सदस्य सचिव डा. बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।
बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी रिजालले महिला हिंसा न्यूनीकरण गर्न र पीडितको उपचार तथा सुरक्षाका लागि गर्न सकिने कामका लागि सुझावसमेत लिएका थिए ।
Comments