झापामा नेपाल मत्स्यपालन किसान संघको प्रथम अधिवेशन सम्पन्न, सिटौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
Published:
by .झापा । व्यवसायिक मत्स्यपालन गर्दै आएका झापाका किसानहरु संगठित भएका छन् । शनिबार बिर्तामोड ३ सैनिकमोडमा भएको नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका संचालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा रमेश थापा कमल, सचिव सुशिल राजवंशी बाह्रदशी, सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा मोहन पायम कचनकवल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हरि मैनाली बिर्तामोड, लक्ष्मी शिवाकोटी बिर्तामोड, राजेश देवान बिर्तामोड, भीम योङहाङ हल्दिबारी, आइतराज लिम्बू बाह्रदशी, सुमन न्यौपाने बिर्तामोड, दीपक सुवेदी बाह्रदशी, मुरलीधर सिंह राजवंशी गौरीगञ्ज, राजु सापकोटा अर्जुनधारा, गंगाप्रसाद पौडेल हल्दिबारी, सुरेश तामाङ भद्रपुर र जयसिंह राजवंशी कचनकवल रहेका छन् ।
तीन वर्षे कार्यकालका लागि गठित १७ सदस्यीय समितिमा पछि चारजना थप गरिने जनाइएको छ । नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।
उद्घाटन मन्तब्यमा उपप्रमुख संग्रौलाले माईपूर्वका आठवटा पालिकाहरुले मरेका र फर्मालिन प्रयोग गरिएका भारतीय माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाउँदै त्यस काममा आउनसक्ने बाधा व्यवधान स्थानीय सरकारले व्यहोर्ने प्रष्ट पारेका थिए । उनले भारतीय माछा माथि प्रतिबन्ध लगाएर माछामा आत्मनिर्भर बनाउन स्थानीय किसानहरुले उत्पादन बढाउनुु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख धु्रवकुमार शिवाकोटीले मत्स्यपालक किसानहरुको लागि संगठनको जरुरी रहेकोमा संगठित भइसकेपछि अब माछाको बजारीकरण, औषधी, दाना र प्राविधिकको व्यवस्थापन गरिनुपर्ने बताए । उनले दानाको लागि बिर्तामोडमा वायर हाउसको आवश्यकता रहेको पनि अवगत गराए ।
हेभन पार्कका संचालकसमेत रहेका शिवाकोटीले आफूले २५० रुपैयाँमा थोक र ३०० रुपैयाँ खुद्रा मूल्यमा माछा बिक्री गरिरहेको बताउँदै माछाको मूल्यमा एकरुपता हुनुपर्ने पनि आवश्यकता औंल्याएका छन् । कार्यक्रममा सहभागी मत्स्यपालक किसानहरुले पालिकाहरुले अस्वस्थकर भारतीय माछा प्रतिबन्ध लगाएकोमा खुशी व्यक्त गरेका थिए ।
लक्ष्मीप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद सेडाईले गरेका थिए । अधिवेशनमा झापाका सबै नगरपालिका र गाउँपालिकाबाट ५० जनाभन्दा बढी मत्स्यपालन किसानहरुको सहभागिता थियो ।
झापामा ३०० भन्दा बढी मत्स्यपालन किसानहरु रहेको अनुमान गरिएको छ । जिल्लामा करिव ७०० विगाह क्षेत्रफलमा माछापालनका लागि पोखरी बनाइएको प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष शिवाकोटीले बताए ।
Comments