नवप्रभातको कारोबार बढ्दै, कर्जा लगानी चार करोड हाराहारी
Published:
by .भद्रपुर । झापाको भद्रपुर–९ पहाँतुबारीस्थित नवप्रभात वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख १२ हजार २२ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
आज शनिबार सम्पन्न संस्थाको ११औं साधारण सभामा वार्षिक प्रतिवेदन पस्तुत गर्दै अध्यक्ष भवानीप्रसाद सापकोटाले सो विवरण सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा संस्थाको कूल शेयरपूँजी ६७ लाख ८८ हजार १०० रुपैयाँ पुगेको छ भने ३ करोड ६१ लाख २६ हजार ५७६ रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तै लगानीमा रहेको कर्जा ३ करोड ७३ लाख सात हजार २४८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष सापकोटाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सहसचिव युवराज शिवाकोटी र व्यवस्थापक खगेन्द्र ढुंगानाले संयुक्तरुपमा सञ्चालन तथा उपाध्यक्ष दाताराम तिम्सिनाले स्वागत गरेको साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता तथा ऋणी र कक्षा ८ र एसईईमा उत्तीर्ण सदस्य परिवारका विद्यार्थीलाई सम्मान गरेको थियो ।
साधारणसभा उद्घाटन समारोहमा प्रमुख अतिथि नगर उपप्रमुख कार्की, शिक्षासेवी विश्व थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments