Sajhamanch Archive

कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

Published: in लोकप्रिय, विविधा, समाज, स्थानीय तह by .

अर्जुनधारा । कालिकापीठ कालिस्थानको १८औं वार्षिकोत्सबको अवसर पारेर ११ दिवसीय बृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ ।

धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने वार्षिकोत्सबको तयारीका लागि कालिकापीठमा सप्पन्न छलफलबाट उक्त निर्णय भएको हो । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध पुराण सबैभन्दा ठूलो रहेको बताए ।

सर्बजनहिताय, सर्बजनसुखाय एवं पीठमा अक्षयकोष वृद्धिको लक्ष्य राखेर पुराण एवं महारूद्राभिषेक महायज्ञ आयोजना गरिने प्राचार्य रिजालले बताए ।

उक्त छलफलमा आफ्ना धारणा सुनाउँदै अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीले सनातन धर्मावलम्बीहरुमा धार्मिक कार्यमा सशक्त सहभागिता जनाउने विगतको प्रचलन तुलनात्मक रूपमा घटेको बताउँदै भावी पुस्तालाई संस्कार र संस्कृति बुझाउनुपर्नेमा जोड दिइन् ।

पश्चिममा मुलुकका नागरिकहरुले वैदिक धर्मग्रन्थबारे अध्ययन–अनुसन्धान गरिरहेको अवस्थामा पूर्वीय संस्कृति पुस्तान्तरण गर्नुपर्ने आवश्यकता माथि उपप्रमुख पराजुलीको जोड थियो ।

पीठका अध्यक्ष पण्डित लक्ष्मीप्रसाद पोखरेलले यज्ञले घर–परिवार, गाउँ, जिल्ला र राष्ट्र र वातावरणमा शुद्धता ल्याउने र पर्यावरणीय शुद्धता प्राप्त भए मानिसमा सदाचार उत्पन्न हुने धारणा राखेका थिए ।

छलफलमा अर्जुनधारा नगरपालिका ९ का वडाध्यक्ष भिष्म मिश्रले निश्चित लक्ष्य राखेर गरिने यज्ञ सफल हुने बताउँदै देवीको शक्तिपीठका रुपमा स्थापित कालिकापीठ तीर्थस्थलको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।

उक्त छलफलमा अर्जुनधारा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता भुपेन्द्र न्यौपानेले कार्यक्रम सफल पार्न व्यापक प्रचारप्रसार गर्नु आवश्यक रहेको बताउँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *