नेपाली कांग्रेस झापा : जिल्लास्तरीय अनुगमन तथा मूल्याङ्कन र प्रचारप्रसार समिति गठन
Published:
by .बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लास्तरमा अनुगमन तथा मूल्याङ्कन समिति र प्रचारप्रसार समिति गठन गरेको छ ।
राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको संयोजकत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ भने कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ ।
अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ताहरुले गरेको चुनावी गतिविधिको अनुगमन एवं मूल्याङ्कन गर्नेछ । यस्तै प्रचार–प्रसार समितिले क्षेत्र, प्रदेशसभा क्षेत्र र वडास्तरमा गठित प्रचार समितिसँगको समन्वयमा प्रचार–प्रसारको भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी बैठकले पार्टीका सबै जिम्मेवार पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य र भातृ संस्थाका पदाधिकारी र सदस्यलाई आआफ्नो मतदाता नामावली रहेकै स्थानमा चुनाव प्रचारमा सक्रियतापूर्वक खट्न पनि निर्देशन गरेको छ ।
कार्यबाहक जिल्ला सभापति पाण्डेको सभापतित्वमा सम्पन्न भएको बैठकमा नेताहरुले निर्वाचन केन्द्रित धारणा राखेका थिए । बैठकमा आफ्ना धारणा राख्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले इतिहासले नेपाली कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी र अवसर सुम्पेको हुँदा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराएर आफ्नो जिम्मेवारी पूरा गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल र गोमा भट्टराई, उपसभापति शेरबहादुर भटराई, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले गठबन्धन दलबीच मतको आदान–प्रदान हुनेहुँदा गठबन्धनलाई चुनाव अवधिभर एकै पार्टी सरह ठानी भावनात्मक एकताका साथ चुनावमा होमिन आग्रह गरेको पार्टीद्वारा प्रेसित समाचारमा उल्लेख छ ।
Comments