शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
Published:
by .काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
हिजो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल वितरण गरेको समाचार आएको थियो । ती समाचारहरु र सामाजिक सञ्जालका सामग्रीहरु पढेर आयोगले मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ती जारी गर्दै ‘चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी’ भन्ने शीर्षकको समाचार र सोही विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ? भनी आयोगले मन्त्री चौधरीलाई सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ कि छैन ? लगायतका प्रश्नहरु सोधिएको छ ।
आयोकले भनेको छ, तपाईंबाट निर्वाचन आचारसहिताको उल्लंङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?
Comments