गोयल परिवारले छात्रालाई दिए साइकल र शैक्षिक सामग्री
Published:
by .भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा जन्मिएर लामो समय भद्रपुरमै बिताई हाल विराटनगरमा बसोबास गर्दै आएको समाजसेवी गोयल परिवारले भद्रपुरका ११ जना छात्रालाई अध्ययनमा सहजताका लागि साइकलसहित शैक्षिक सामग्री प्रदान गरेको छ ।
समाजसेवी दीनबन्धु गोयलको आयोजना र भद्रपुर मारवाडी संघको सहआयोजनामा संघकै सभाहलमा आज आयोजित एक संक्षिप्त समाारेहका बीच साइकल, शैक्षिक पोशाक र छात्रबृत्ति प्रदान गरिएको हो ।
संघका अध्यक्ष अजय साहेवालाको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ६ नं वडाध्यक्ष रतिया राजवंशी, ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका अध्यक्ष शीला खड्का लगायतले छात्राहरुलाई सामग्री हस्तान्तरण गरिदिएका थिए ।
पढाइमा जेहेन्दार तर आर्थिकरुपमा कमजोर छात्राहरु छनोट गरी ती सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक राजु दाहालले जानकारी दिए ।
सामग्री पाउनेमा वीरेन्द्र नमूना क्याम्पसमा उच्च तह अध्ययनरत रोशनी मुर्मु, गहा मुर्मु, आशा खेरवार, मोती मालपाडे, र जोसफिना खडिया, वीरेन्द्र माविका माध्यमिक तह अध्ययनरत वविता राजवंशी, फूलमुनि मर्डी, प्रितम उराउ, सिर्जना सदर, करुणा ऋषिदेव र भद्रपुर माविकी सरिता कर्माकार रहेका छन् ।
दाता परिवारका अनुसार छात्रबृत्तिसहित एकजनालाई ३१ हजार रुपैयाँबराबरको सहयोग गरिएको छ ।
साइकलसहित शैक्षिक सामग्री पाएपछि छात्राहरुले खुशी प्रकट गर्दै यसले आफ्नो पढाइमा ठूलो सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पोखरेलले आर्थिक अभावकै कारण भद्रपुरका विद्यार्थीले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिइने जिकिर गरेका छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल गिरीले गरेका थिए ।
Comments