बिराट बहुउद्देश्यीय सहकारीमा तरलताको अभाव छैन, शेयर बोनस १० प्रतिशत दिने
Published:
by .बिर्तामोड । यहाँस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था (बिएमसी)ले कोरोना संक्रमणको महामारी तथा वित्तीय बजारमा तरलता अभावजस्तो विषम परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई १० प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ ।
कात्तिक ४ गतेका लागि निर्धारित संस्थाको १७औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बिएमसीले उक्त जानकारी दिएको हो । झापा जिल्लाभर कार्यक्षेत्र स्वीकृति पाएको बिएमसी बाह्य ऋण शून्य भएको सहकारी संस्था हो ।
आर्थिक वर्ष २०७८/०७९ मा ४३ करोड २० लाखको वित्तीय कारोबार गरेको बिएमसीमा ३ हजार ३१८ शेयर सदस्य रहेका छन् । संस्थाले ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ शेयर पुँजी संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
२०७९ को असार मसान्तमा संस्थामा ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ निक्षेप मौज्दात रहेको र ३० करोड ६७ लाख ७३ हजार ९७४ रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा उपाध्यक्ष होम सिटौला, सञ्चालक सदस्य अर्जुनकुमार पाठक र सल्लाहकार संयोजक उमानाथ ओलीको उपस्थितिमा प्रबन्धक रुद्र सिटौलाले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमार्फत् प्रतिवेदन अनावरण पनि गरेका थिए ।
संस्थाले समीक्षा वर्षसम्ममा ७० लाख २३ हजार ४९५ रुपैयाँ सदस्य स्वास्थ्य उपचार कोषमा जम्मा भएको जनाएको छ । उक्त कोषको ब्याजबाट संस्थाले गत आर्थिक वर्षमा मात्र सदस्यको स्वास्थ्य उपचारमा ८ लाख १९ हजार ५०० रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै सुत्केरी पोषण खर्चमा ५५ हजार ५५ रुपैयाँ, सदस्य काजकिरिया खर्चमा ४० हजार १० रुपैयाँ, सदस्य परिवारको दशगात्र कर्ममा ३ लाख १२५ रुपैयाँ र सामाजिक उत्तरदायित्व अन्तरगत चन्दा सहयोगमा ४६ हजार ५०० रुपैयाँ खर्चेको जनाइएको छ ।
साधारणसभाका अवसरमा बिएमसीले वर्ष उत्कृष्ट बचतकर्ताका रुपमा मनिषकुमार उप्रेती र असल ऋणिका रुपमा कुमारी कार्कीलाई जनही नगद ७ हजार ५०५ रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्ने जनाइएको छ । यस्तै वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शान्ता सेढाईं सिटौलालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्ने जनाइएको छ ।
बैंक तथा सहकारीहरुमा तरलताको अभाव भइरहेको वर्तमान सन्दर्भमा बिराट बहुउद्देश्यीयले यसको सामना गर्नु परेको छैन बरु ३० प्रतिशत हाराहारी रहेको जनाउँदै अध्यक्ष शिवाकोटीले संस्था हरेक हिसावले मजवुत भएको जनाएका छन् ।
Comments