Sajhamanch Archive

बिराट बहुउद्देश्यीय सहकारीको साधारणसभामा राजनीतिज्ञ सिटौलालाई समाजसेवा पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । ज्येष्ठ राजनीतिज्ञ डिल्ली सिटौलालाई बिराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ ।

संस्थाको १७औं वार्षिक साधारणसभा समारोहमा ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार रकमसहित सिटौलालाई कदरपत्र प्रदान गरिएको हो । साधारणसभा समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष मोहन शिवाकोटी, सल्लाहकार संयोजक उमानाथ ओलीलगायतले सिटौलालाई कदरपत्र र पुरस्कार हस्तान्तरण गरेका हुन् ।

बिएमसीका तत्कालीन उपाध्यक्ष पर्शुराम सिटौलाको नाममा स्थापित पुरस्कार संस्थाले दोस्रोपटक प्रदान गरेको हो । अघिल्लो वर्ष स्वास्थ्य क्षेत्रमा पुरस्कार प्रदा नगरिएकोमा यो वर्ष समाजसेवा रोजिएको सञ्चालक समिति सदस्य भीमकुमारी शिवाकोटीले घोषणा गरेकी थिइन् ।

यस्तै संस्थाले वर्ष उत्कृष्ट बचतकर्ताका रुपमा मनिषकुमार उप्रेती र असल ऋणिका रुपमा कुमारी बस्नेत कार्कीलाई जनही नगद ७ हजार ५०५ रुपैयाँ पुरस्कार र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ । यस्तै वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शान्तादेवी सेढाईं सिटौलालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

सोही अवसरमा सेयर सदस्यका छोराछोरीहरु मध्ये उत्कृष्ट अंकसहित एसईई उत्तीण गर्ने दुईजना छात्राहरु पनि जनही ५ हजार ५ रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । पुरस्कृतहरुमा मोहनमाया माविबाट ३ दमलव ५७ जिपिए प्राप्त गरी उत्तीर्ण अपेक्षा आचार्य र कञ्चनजंघा माविबाट ३ दमलव ५ जिपिए प्राप्त गरेकी गायत्रा बाँस्कोटा रहेका छन् ।

साधारणसभा समारोहमा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ४३ करोड २० लाखको वित्तीय कारोबार गरेको बिएमसीमा ३ हजार ३१८ शेयर सदस्य रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ शेयर पुँजी संकलन गरेको, २०७९ असार मसान्तमा संस्थामा ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ निक्षेप मौज्दात रहेको र ३० करोड ६७ लाख ७३ हजार ९७४ रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरिएको जनाइएको छ । संस्थाले समीक्षा वर्षमा ८३ लाख १४ हजार ९०२ रुपैयाँ खुद मुनाफा गरी शेयर बोनस १० प्रतिशत दिने निर्णय गरेको छ ।

साधारणसभा समारोहका प्रमुख अतिथि नगरप्रमुख प्रसाईले सहकारी संस्थाको सम्पत्ती भनेकै सेयर सदस्य हुन् भन्ने धारणा राख्दै सही र पारदर्शी ढंगबाट सञ्चालन भएका सहकारीहरु सफल भएको बताइन् । साधारणसभा सहकारी संस्था र सदस्यहरुका लागि चाड जत्तिकै महत्वपूर्ण दिन भएको भन्दै नगरप्रमुख प्रसाईले आफ्नो गुनासोको सुनवाई हुने आजको दिनमा सदस्यहरुले धक फुकाएर बोल्नुपर्ने सुझाइन् ।

उक्त कार्यक्रममा सम्मानितहरुका तर्फबाट मन्तब्य राख्दै राजनीतिज्ञ डिल्ली सिटौलाले भने– ‘मसँग तागत छ, म कञ्चन छु, बेदाग छु तर गन्तब्यमा पुग्न नसकेकोमा पश्चाताप भइरहेको छ ।’ उनले घुमाउरो भाषामा वर्तमान राजनीतिक परिवेशमाथि टिप्पणी गरिरहेका थिए । वर्तमान सत्तारुढ र विपक्षी दलहरुलाई जन आन्दोलनहरुबाट प्राप्त राजनीतिक अधिकारको रक्षा गर्न आग्रह गर्दै उनले भने ‘आसन्न निर्वाचनले परिवर्तनका पक्षधरहरुलाई गन्तब्यमा पुग्न मद्धत गरोस् ।’

संस्थाका प्रबन्धक रुद्र सिटौलाले सञ्चालन गरेको सो कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्वप्रमुख तथा पूर्वमन्त्री खगेन्द्र प्रसाई, मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, चारपाने गाविसका तत्कालीन अध्यक्ष प्रेमप्रसाद सिटौला, कञ्चनजंघा बोर्डिङ स्कूलका प्रिन्सिल गुरुभक्त न्यौपाने र महेन्द्ररत्न मावि व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाईले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *