Sajhamanch Archive

‘आत्मनिर्भर महिला साकोस बिर्तामोडकै नमूना सहकारी बन्नुपर्छ’ : जिसस प्रमुख बराल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

बिर्तामोड । झापामा महिलाहरुले मात्र सञ्चालन गरेको दोस्रो ठूलो सहकारी संस्था आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ ।

हालसम्म बजार प्रतिनिधि (कलेक्टर) नराखीकन निक्षेप संकलन गर्दै आएको तथा वित्तीय कारोबारका लागि बाह्य कर्जा नलिएको संस्थाको पहिचान आत्मनिर्भरले स्थापित गरेको छ ।

बिर्तामोडका २५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी संकलन गरी २०६८ साल असार २९ गते दर्ता गरिएको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थामा २०७९ असार मसान्तमा एक करोड १७ लाख ७९ हजार ७०० रुपैयाँ शेयर पुँजी पुर्याइएको छ । संस्थामा एक हजार ४१० जना शेयर सदस्य र २५५ जना बाल सदस्य गरी एक हजार ६६५ जना सदस्य रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष प्रसाईले २०७९ असार मसान्तमा संस्थामा दुई करोड ८९ लाख ८४ हजार ८०० रुपैयाँ निक्षेप संकलन गरी पाँच करोड ३२ लाख एक हजार ६०० रुपैयाँ कर्जा लगानी गरेको सुनाइन् ।

गत आर्थिक वर्षको तुलनामा संस्थाको शेयर पुँजी १७ दशमलव ७४ प्रतिशत, निक्षेप दुई दशमलव ३७ प्रतिशत र कर्जा लगानी १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसैगरी सदस्य संख्या १३ दशमलव ६५ प्रतिशत र खुद नाफा ५१ दशमलव ५४ प्रतिशतले वृद्धि भई ५८ लाख ३७ हजार ९०० रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जिसस प्रमुख बरालले महिलाहरु सहनशील हुने, नेतृत्व क्षमतायुक्त हुने, अरुका पीरमर्का बुझ्ने गुण भएकै कारण आत्मनिर्भर साकोस प्रगतिपथमा रहेको धारणा राखे । महिला सदस्यहरुले संस्थाका अध्यक्षलाई बिर्तामोडको नगरप्रमुख बनाउन पनि महत्वपूर्ण योगदान गरेको भन्दै बरालले आत्मनिर्भर साकोस नगरकै नमूना बन्नुपर्ने सुझाव दिए ।

सहकारीहरुले पैसा किन्ने र बेच्नेमात्र गर्दा वित्तीय बजारमा नकारात्मक चर्चा पनि हुने गरेकाले सदस्यहरुलाई उत्पादनशील कार्यमा लगाएर आत्मनिर्भर बनाउन आवश्यक रहेको उनको भनाई छ ।

साधारणसभा समारोह भइरहेको आदर्श ब्याङ्क्वेट क्षेत्रमा मतदातासँग भेटघाट गरिरहेका क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अनुमति लिएरै हलमा प्रवेश गरी शुभकामना मन्तब्य राखेका थिए । उनले आफू ५० वर्षदेखि जनजीविकाको सवालमा नै आन्दोलनरत रहेको भन्दै आसन्न चुनावमा उम्मेदवार रहेकोले आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरी विजय गराउन आग्रह पनि गरेका थिए ।

सोही अवसरमा संस्थाले आफ्ना सदस्यहरुलाई सम्मान पनि गरेको थियो । मायाको चिनोसहित सम्मानित हुनेहरुमा असल बचतकर्ता पवित्रादेवी बजगाईं, असल ऋणि रमावती चौधरी, एकल महिला सदस्य गंगादेवी रेग्मी र ज्येष्ठ सदस्य नरमाया मगर रहेका छन् । यस्तै बालबचतकर्ता प्रविन शिवाकोटी र अनसुया मिश्र तथा उद्यमी महिला रोशिकला तामाङ पनि सम्मानित भएका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य सावित्रा दाहाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, स्वरोजगार भवानी साकोसका उपाध्यक्ष कमला थापा मगर, मिलनसार साकोसका अध्यक्ष लक्ष्मी बाँस्कोटा, बिर्तालेडी जेसीजका अध्यक्ष संगीता चिमरिया लगायतले मन्तब्य राखेका थिए ।

संस्थाका सचिव तथा कार्यकारी प्रमुख पुष्पा दाहालले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित अतिथि र सहभागीहरुलाई कोषाध्यक्ष चन्द्रा सेढाईले शाब्दिक स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *