तिहारको अवसरमा पाठकको हातमा लोकतन्त्र पोस्टको विशेषांक
Published:
by .मेचीनगर । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले १०० पृष्ठको रंगीन विशेषांक (लोकतन्त्र म्यागेजिन) प्रकाशन गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी र २०६२/०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले सोमबार संक्षिप्त कार्यक्रमबीच संयुक्तरुपमा लोकतन्त्र पोष्ट म्यागेजिनको लोकार्पण गरिएको हो ।
लोकतन्त्र पोस्ट दैनिकले विगत ८ वर्षदेखि वार्षिक रुपमा म्यागेजिन प्रकाशित गर्दै आएको छ । हरेक वर्ष दसैंमा प्रकाशित हुँदै आएको म्यागेजिन यसपाली तिहारमा प्रकाशित भएको पत्रिकाका सम्पादक तथा प्रकाशक मोहन काजीले बताएका छन् ।
यो अंकको कभर थीम ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ भन्ने रहेको छ । ‘थुप्रै व्यवस्था फेरिँदा पनि आम जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको विषयलाई जोडदार रुपमा उठाउनु यो अंकको उद्देश्य हो,’ काजीले भने– ‘राज्यको नीति निर्माता र नेतृत्वदायी जिम्मेवारीमा रहेकाहरुलाई खबरदारी गर्न सक्यौं भने हामी सफल भएको ठान्नेछौं । म्यागेजिनको सन्देश पनि यही हो ।’
म्यागेजिनमा राष्ट्रगानका रचयिता व्याकुल माइला, चराखोजकर्ता देबेन्द्र खरेल, प्रखर युवा उद्यमी आशिष शर्मा, सप्तकोशी विकास बैंकका कामु सीइओ दिनेश पोखरेल, अभियन्ता अर्जुनकुमार कार्की, क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव र नेत्ररोग विशेषज्ञ डा. जेनु शैजुको विशेष र रोचक अन्तरवार्ता प्रकाशित छन् ।
यसैगरी, प्रख्यात राजनीतिक विश्लेषक डम्बर खतिवडा, पुण्यप्रसाद खरेल, डा. अरुणा उप्रेती, कमन देवान, भीमा शिवाकोटी र गोविन्द्र न्यौपानेको फरक धारका विशेष लेख प्रकाशित छन् ।
जनार्दन दाहाल र विन्दु अधिकारीको साहित्यिक रचनासमेत म्यागेजिनमा समेटिएको छ भने राजकुमार दिक्पाल, अम्बिका भण्डारी, अर्जुन कार्की र रेवतीराज घिमिरेको खोजमूलक लेख प्रकाशित छन् ।
Comments