Sajhamanch Archive

केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन छोएको हुनुपर्छ । देशमा प्रजातन्त्र प्राप्ती भयो, धेरैले यसलाई लोकतन्त्र पनि भने र अहिले त गणतन्त्र आएको छ । यस्तो ३२–३३ वर्षभन्दा पहिलेका दिनहरु सम्झाउने गरी जनसंगीत कलाकार संघ कमलले प्रस्तुत गरेको कार्यक्रमप्रति धेरैले ‘फ्लासब्याक’ अनुभूत गरेका थिए ।

सो सांस्कृतिक देउसी भैलो कार्यक्रमले आफ्नो संस्कार संस्कृति अहिलेको पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको थियो । उतिबेला महिला माथि हुने गरेका दमन, शोषण र अत्याचार विरुद्ध कलाकार जेबी टुहुरेले गाउने गरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ भन्ने गीतले जसरी छमछमी नचाउँथ्यो अहिले पनि उसैगरी यो बेला पनि नचाएको छ ।

जनसंगीत कलाकारहरुले त्यो बेलाका जनताका पीडा बोकेका जनवादी गीत प्रस्तुत गरेर तीन दशक अघिको ‘फ्लासब्याक’ गराएका थिए । गीतमा त्यो बेलाको समाजको यथार्थ चित्रण गरिएको गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

सो कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मंसीर ४ गते सम्पन्न हुने प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर ५ (१) का उम्मेदवार हिक्मत कार्कीले तिहार पर्वले नेपालीलाई एकताको सूत्रमा बाँध्ने गरेको बताए । तिहार पर्वले हामीलाई प्रगति र उन्नतिको मार्ग देखाओस् भन्ने कामना गर्दै एमाले नेता कार्कीले एकताको सूत्रमा बाँधेर राष्ट्र निर्माणमा सहयोग पुगोस् भन्ने शुभकामना दिए ।

गाउँपालिका स्तरीय जनसंगीत कलाकार संघ गठन भएपछि यो पहिलो कार्यक्रम गरेको हो । यसले समाजमा लुकेर बसेका प्रतिभाको प्रस्फुटन गर्दै पहिलेको संस्कार र सस्कृतिलाई युवा पुस्ता बीच जानकारी गराउन उद्देश्यले यो देउसी कार्यक्रमको आयोजना गरेको एमाले केन्द्रीय सदस्य मेनुका काफ्लेले बताइन् ।

जनसंगीत कलाकार संघ कमल गाउँकमिटीका अध्यक्ष डम्बर तामाङको अध्यक्षतामा सम्पन्न देउसी कार्यक्रममा स्थानीय बासिन्दाहरुको बाक्लो सहभागिता थियो । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रदेखि, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँकमिटी र वडा तहसम्म नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

देउसी कार्यक्रममा कलाकार कैलाश थापा मगर, कुमारी विक, कल्पना फुयाँल सुशिला कार्की, मैना धिताल, निशा पाठक, निसान पाठक, अनन्त मिश्र, नरबहादुर दाहाल लगायतका कलाकारको प्रस्तुति रहेको थियो । संघका सचिव सोमनाथ खरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी एवम् आमन्त्रितहरुलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य नर्वदा गौतमले शाब्दिक स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *