Sajhamanch Archive

छठपूजा : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापाका विभिन्न नदी तथा खोलाको किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ ।

प्रदेश १ मा नै सर्वाधिक जनसहभागिता रहने छठपूजा स्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदी, दोस्रो ठूलो घाटस्थल बिरिङ, मेची, निन्दा, कनकाई, कमल, अन्धुवा लगायत खोला र नदीमा भव्यरूपमा छठपूजा गरिएको हो ।

छठपूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि नदी किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली, मुस्लिम लगायत विविध जातजातिको साझा प्रतिनिधित्व हुने गरेको छ । यो वर्ष पनि सबै जातिले समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा ५ हजारभन्दा बढी पूजास्थल निर्माण गरी नदीको वारिपारी दुवैतिरबाट साझा पर्व मनाएका छन् । दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा पूजास्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् ।

यस्तै छठ सेवा समिति बिर्तामोडको आयोजनामा कनकाई नगरपालिका वडा नं. ८ मा पर्ने बिरिङ खोलामा औपचारिक कार्यक्रमको आयोजना गरेर छठपूजा आरम्भ गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा बिरिङ किनारमा आयोजित विशेष समारोहमा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो ।

महासचिव मनोजकुमार रौनियारले सञ्चालन गरेको सो कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, कनकाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लीला कट्वाल, नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटी, प्रजिअ रिजाललगायतले मन्तब्य राखेका थिए ।

श्री छठ सेवा समिति बिर्तामोडका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा उपाध्यक्ष राजकुमार साहाले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *