Sajhamanch Archive

सतासी डिपार्टमेन्टमा लक्की ड्र : को को भए भाग्यशाली विजेता

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सतासी डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षण गर्न दशैं तिहारमा वितरण गरेको कुपनको आज लक्की ड्र गरी विजेता छानिएको छ ।

नेपालीहरुको भर्खरै सकिएको महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार, छैठ तथा नेपाल सम्वतको अवसरमा सो डिपार्टमेन्टमा दुई हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई एउटाका दरले कुपन वितरण गरेको थियो । उक्त कुपनको अर्धकट्टी राखेर लक्की ड्र गरी विभिन्न पुरस्कारहरु पाउने विजेता आज छानिएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित सो लक्की ड्र कार्यक्रमबाट ६३ जनाले विभिन्न उपहारहरु प्राप्त गरेको जनाइएको छ । जसअनुसार ४४२ नम्बर कुपन लिने बिर्तामोडका डिल्ली न्यौपाने प्रथम पुरस्कार ३२ इन्चको एलइडी टिभी पाउने भाग्यशाली बनेका छन् ।

यस्तै दोस्रो पुरस्कार कुपन नम्बर ११४० लिने कनकाई ३ सुरुङ्गाका धर्मप्रसाद उप्रेतीले ७ केजी क्षमताको सामसुङ वासिङ मेसिन र तेस्रो पुरस्कार वापत १९२ लि. क्षमताको सामसुङ फ्रिज कुपन नम्बर ७४९ लिने कनकाई ३ सुरुङ्गाका हेमन्तकुमार राईले पाएका छन् ।

संस्थाले १० जनालाई ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहारमा दिएको छ भने साझेदार डिलरहरुले ५० जनालाई विभिन्न गिफ्ट ह्याम्पर उपलब्ध गराएका छन् ।

उक्त लक्की ड्र कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले सतासी डिपार्टमेन्टले नेपाली उपभोक्तालाई स्वदेशमा नै उपभोग्य वस्तु खरिदका लागि उपहार योजना राखेर छिमेकी मुलुकका सीमावर्ती बजारमा जाने ग्राहकलाई रोकेकोमा धन्यवाद दिए । यस्ता कार्यक्रमले झोला बोकेर ‘पारी जाने’ प्रथाको अन्त्य गर्ने अपेक्षा सुनाउँदै अध्यक्ष शिवाकोटीले वाणिज्य संघले पनि अब जनचेतनामुलक कार्यक्रम गरी अभियान सञ्चालन गर्ने सुनाए ।

संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त लक्की ड्रमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष सुजता थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *