Sajhamanch Archive

झापा ३ (१) : बानियाँ विरासत जोगाउने कसरतमा, राजवंशी जीतको आकांक्षामा

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ (१) मा प्रदेशसभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासत कायम राख्ने दाउमा नेकपा एमालेका बसन्तकुमार बानियाँ अग्रसर छन् । नयाँ अनुहारका रूपमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भूमिप्रसाद राजवंशी चाहिँ जीतको झण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्ने मनोकांक्षाका साथ मत मागिरहेका छन् ।

विद्यार्थी जीवनमा अनेरास्ववियुका विभिन्न जिम्मेवारी सम्हालेदेखि नेकपा एमालेको तल्लो तहहुँदै प्रदेश कमिटीको सदस्यसम्म बनिसकेको बसन्तकुमार बानियाँले उक्त भूगोल सुहाउँदो आवश्यकता पूरा गर्न पालिका, प्रदेश र संघीय सरकारबाट पर्याप्त बजेट व्यवस्था गरेका थिए । उनी राजनीतिक आस्थाका लागि भन्दा पनि समाजका लागि के आवश्यक छ सोको परिपूर्तिका लागि अग्रसर भएर लाग्ने गरेको उनका मतदाता बताउँछन् ।

यस्तै उनको प्रतिष्पर्धामा रहेका राजवंशी पनि दक्षिणी झापाको कचनकवलमा रहेर त्यहाँको उन्नतिका लागि शिक्षण पेशाको माध्यमबाट दशकौं सेवा गर्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपाली काँग्रेसमा निरन्तर सकृय रहेका व्यक्ति हुन् ।

आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं ३ (१) बाट प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएका यी दुवैजनाले २०७४ को निर्वाचनमा पनि प्रमुख प्रतिष्पर्धी थिए । सो चुनावमा बानियाले तीन दलीय गठबन्धनको सहयोगमा जीत हासिल गर्दा काँग्रेसबाट भिडेका राजवंशीले उपविजेताका रूपमा चित्त बुझाउनु परेको थियो ।

बानिया र राजवंशी दोस्रो पटक आमनेसामने हुँदा यसपटक भने भिडन्त विगतको तुलनामा निकै फरक तथा रोचक हुने देखिएको मतदाताको कथन छ । २०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट साझा उम्मेदवार बनेर निर्वाचन लडेका थिए । राजवंशी काँग्रेसको उम्मेदवार थिए । सो निर्वाचनमा बानियाँले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए ।

आसन्न निर्वाचनमा एमालेका उम्मेदवार बानियाँलाई राप्रपाले मात्र साथ दिएको छ । एमाले र माओवादी मिलेर नेकपा बनेको वर्ष दिन नबित्तै चार चोइटा भएको अवस्था छ भने माओवादी र एकीकृत समाजवादीले कांग्रेसका उम्मेदवार राजवंशीलाई साथ दिएका छन् ।

अघिल्लो मतको आधारमा प्राप्त जीतलाई यथावत राख्न यो पटक बानियाँलाई हम्मेहम्मे पर्ने आंकलन गरिएको छ भने राजवंशीलाई हारको बदला लिन अनुकुल मौका हो । तर एक कार्यकाल जनप्रतिनिधि भएर जनताको पक्षमा गरेका कामहरुले बानियाँको उचाई राजनीतिक दलको नेताभन्दा पनि सामाजिक कार्यकर्ताजस्तो बन्दै गएकाले उनैले जित्नेमा कांग्रेस कार्यकता नै अनमान लगाउन पछि पर्दैनन् ।

२०७० को निर्वाचनमा चौथो शक्तिको रूपमा रहेको नेकपा एमालेले राप्रपा र माओवादी केन्द्रको सहयोगमा २०७४ मा झापा क्षेत्र नं ३ (१) मा निर्वाचन जितेको थियो । राप्रपाबाट बिद्रोह गरेर बलियो जनमत बटुल्दै गरेका युवा हेमलाल भट्टराईसमेत स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएका छन् । भट्टराई एमाले तथा राप्रपाका असन्तुष्ट मत समेटेर दल बाहिर रहेका मतदाताको साथ लिएर विजयी हुने लक्षमा छन् । उनको आँकलन अनुसार विगतदेखि निर्वाचन जितेका दलीय उम्मेदवारले यस क्षेत्रमा केही गर्न नसकेका कारण विकल्पमा आफू उभिएको दावी छ ।

चुनावी तालमेल फरक भए पनि आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार बानियाँले दावी गरिरहेका छन् । लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजवंशीले यसपटक आफ्नो लागि जित्ने माहोल बनेको दावी गरेका छन् । ‘माहोल राम्रै बन्दै गएको छ’ उनले भने, ‘गत निर्वाचनको भन्दा स्थिति सुध्रिएको छ, निर्वाचन जित्छु ।’

झापाको क्षेत्र नं. ३ (१) भित्र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ पर्छ । यहाँको कूल मतदाता संख्या ५८ हजार ८१७ रहेको छ । गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेसको जित रहेको छ । यसअघिको स्थानीय तहमा कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *