‘आफ्नो क्षेत्रको विकास गर्न मतदाताले एमालेलाई रोज्नुपर्छ’ : देवराज घिमिरे
Published:
by .झापा । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको जिकिर गरेका छन् । निर्वाचन प्रचार अभियानकै क्रममा आज पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिँदै घिमिरेले पदको लोभमा अरु पार्टी चहार्दै हिड्ने व्यक्ति आफ्नो प्रतिस्पर्धी हुन नसक्ने तर्क गरेका हुन् ।
नेकपा एमाले स्थायी कमिटीको सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका घिमिरेले देशभर एमालेलाई घेराबन्धीमा पारेर चुनावमा जित्न नदिने कसरतमा गठबन्धन लागेको अवस्थामा मुख्य प्रतिस्पर्धी त्यही गठबन्धनका उम्मेदवार हुनुपर्ने भए पनि झापा २ को अवस्था त्यस्तो नभएको उनको भनाई छ । उनले भने, ‘अहिले देशैभरका मतदाता गठबन्धनको पक्षमा छैनन् । अझै झापा २ को अवस्था हेर्ने हो भने त उनीहरुले आफ्नो पार्टीभित्र उम्मेदवार नभेटेर अर्को पार्टीको मान्छेलाई फकाएर ल्याएकोले यस्तो उम्मेदवारको पक्षमा कार्यकर्ता नै लाग्ने स्थिति नै छैन ।’
झापा क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट हरिकुमार राना प्रतिनिधिसभाको निर्वाचनमा घिमिरेको प्रतिस्पर्धीको रुपमा उम्मेदवार बनेका छन् । लामो समय एमालेको नेतृत्वमा रहेर पद, प्रतिष्ठा र सुविधा उपभोग गरिसकेका रानाले मनोनयन दर्ता गर्ने दिन दल बदलेर गठबन्धनको उम्मेदवार बनेका छन् । गठबन्धन भित्रै पनि कांग्रेसले रानालाई मत नदिने अड्कलबाजी चलिरहेका बेला माओवादी चुनाव चिह्नबाट चुनाव लडेका रानालाई माओवादी कार्यकर्ता कै पनि मत नआउने चर्चा चल्न थालेको छ ।
चुनावी कार्यक्रमहरुमा सम्बोधन गर्ने क्रममा रानाले आपूm माओवादीको नभई स्वतन्त्र उम्मेदवार भएको जिकिर गर्दै चुनाव चिह्नमात्र त्यो पार्टीको प्रयोग गरेको बताइरहेका छन् । जसले गर्दा माओवादीका नेता कार्यकर्तालाई समेत राना माथि विश्वास गरेको अवस्था छैन । यही कारण आफ्नो जीत सुनिश्चित रहेको घिमिरेलेको दावी छ ।
नेकपा एमालेप्रति जनताको अगाध विश्वास रहेको भन्दै एमाले नेता घिमिरेले आफ्नो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको पनि कुनै प्रभाव नभएको तर्क गरे । आफ्नो क्षेत्रलाई विकास गर्ने अवसरबाट पछि धकेल्न मतदाताले स्वतन्त्रलाई मत नदिने तर्क गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार घिमिरेले बहुदलीय व्यवस्थामा दलका उम्मेदवारहरुले जितेमात्र सत्तामा पुग्ने अवसर पाउने प्रष्ट पारे ।
Comments