Sajhamanch Archive

नेशनल भेट्रान चेस च्याम्पियनशीपमा शिर्ष खेलाडीको शुरुवाती अग्रता

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ ।

च्याम्पियनशीपको पहिलो दिन आज शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुई–दुई अंकका साथ अग्रता लिन सफल भएका छन् ।

च्याम्पियनशीपका शीर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विमल लालले पहिलो चरणमा भक्तपुरका जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेट मास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे ।

त्यसैगरी तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे ।

पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।

रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथि जीत दर्ज गरे ।

दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।

तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको थियो ।

नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडी हरुलाई मध्यनजर गर्दै नेशनल सिनियर ९भेट्रान्स० च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगिता मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्डसमेत प्रयोगमा ल्याएको छ ।

सात प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पिनशीपको पुरस्कार राशी १ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

स्विस लिग अनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्तरगत प्रायोजन गरिएको यस च्याम्पियनशीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

च्याम्पियनशीप अन्तरगत भोलि आइतबार तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *