Sajhamanch Archive

बुद्धशान्ति २ एमालेको चुनावी घरदैलो, देवराज–चिन्तनद्वारा बिन्दुली खोलामा बाँध बनाउने प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बुद्धशान्ति । नेकपा एमालेको सरकारका पालामा सुरु भएका भौतिक पूर्वाधार निर्माणका कामहरुलाई अहिलेको गठबन्धन सरकारले प्राथमिकतामा नराखेको नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले दावी गरेका छन् ।

झापाको बुद्वशान्ति २ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले केपी ओलीले शिलान्यास गरेर बजेट छुट्याएका पूल र बाटो निर्माणका कामहरुलाई मात्र निरन्तरता दिने हो भने पनि मुलुकमा विकास निर्माणले फड्को मार्ने उनले प्रष्ट पारे । केही त्यस्ता योजनामा काम भए पति गति अत्यन्तै सुस्त रहेको भन्दै उनले काम नगर्ने ठेकेदार र कम्पनीलाई अहिलेको सरकारले कारवाही गर्नुको साटो उल्टै संरक्षण र पुरस्कृत गरेको घिमिरेको भनाई छ ।

अहिलेको प्रशासन कुशासनमा परिणत भएको सुनाउँदै एमाले नेता घिमिरेले यस्तो अवस्थामा अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बने यी अधुरा कामले निरन्तरता पाउने दावी गरे । झापा क्षेत्र नं. २ बाट आसन्न निर्वाचनमा आफूले जितेपछि अर्जुनधारा र बुद्वशान्ति क्षेत्रको ठूलो समस्याको रुपमा रहेको बिन्दुली खोलामा बाँध बनाएर नदी कटान समस्याको दिगो समाधान गर्ने घिमिरेले प्रतिवद्धता समेत जनाए । योसँगै बाटो निर्माणदेखि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्ने उनको भनाई छ ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेदवार चिन्तन पाठकले बाटो निर्माणसँगै मठमन्दिरको स्तरोन्नति, सिंचाइको व्यस्थापन, कृषि क्षेत्रका समस्याको समाधान, विद्युत बिस्तारका काम, शुद्व पिउने पानीको व्यवस्थापन, विद्यालय भवनको स्तरोन्नति, स्वास्थ्य क्षेत्रको विकास, खेलकुद क्षेत्रको विकास लगायत काम अबको प्राथमिकतामा रहने प्रतिवद्धता जनाए ।

सो क्षेत्रमा आज भएको चुनावी घरदैलो अभियानमा सोही क्षेत्रमा निवर्तमान प्रदेश सांसद बिर्ख प्रधानले आफ्नो र प्रतिनिधि सभा सांसद पवित्रा निरौला खरेलको पालामा पनि बुद्वशान्ति क्षेत्रमा धेरै राम्रा काम भएको दावी गरेका थिए । उनले अबको निर्वाचनमा पनि एमालेले नै जित्नुपर्ने बताउँदै विकास निर्माणका अधुरा योजना र कार्यहरु पूरा गर्न तथा नयाँ कामको सुरुवात गर्न एमालेले मात्रै सक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *