लिफ प्लस प्रालिको उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति
Published:
by .मेचीनगर । झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले दिएको जानकारी अनुसार मध्यरातमा भएको सो आगलागीबाट कारखाना भवन, दुईवटा कन्टेनरमा राखिएको तयारी दुना टपरी, मेसिनरी औजार लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।
मेचीनगर, भद्रपुर, बिर्तामोड, कमल र दमकको दमकलले आज बिहानमात्र उक्त आगलागी नियन्त्रणमा लिन सकेको प्रहरीको भनाई छ । आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताएका छन् ।
सो उद्योगले सुपारीको सुकेका खबटालाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर आकर्षक दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन यूरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो ।
“राति साढे १२ बजेतिर कारखाना भवनका छिमेकीले आगलागी भयो भन्दै गाउँलेहरुलाई बोलाएपछि हामी हतारहतार पुग्यौं” सञ्चालक दाहालले भने, “हामी पुग्दा उद्योगका सबै सामान जलेर खरानी भइसकेको रहेछ ।”
झापामा सुपारी खेती हुने गरेको छ । खेर गइरहेको सुपारीको पातको खबटालाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयबासीले समेत यसबाट मनग्य लाभ लिन थालेका थिए ।
हरि दाहाल, स्वाभिमान आचार्य, बिधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कठ्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले उद्योगमै प्रत्यक्ष रोजगारी पाएका थिए भने पात संकलन कार्यमा सयौंले काम पाउँदै आएका थिए ।
Comments